११ कार्तिक , काठमाण्डौ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । मंगलबार बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस गरेका हुन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान पासपोर्ट रोक्का र काठमाडौं उपत्यका छाड्न रोक लगाएको छ।
यसरी गरिएको निर्णय गैरकानुनी भएको र सम्मानपूर्वक बाँच्न पाउने अधिकारविरूद्ध भएको भन्दै रिट पेस भएको छ । अधिवक्ता सिलवालले उक्त निर्णयलाई खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न भन्ने परमादेश र उपयुक्त आदेशको माग गरेका हुन् ।
रिटमा पासपोर्ट रोक्का गर्ने र स्थान हद तोक्ने निर्णयले संविधानको सम्मानपूर्वक बाँच्न पाउने हकलाई हनन गरेको आरोप छ। साथै स्वतन्त्रतामा समेत असर गरेको भनिएको छ । उक्त रिट सर्वोच्चमा दर्ता भइसकेको छैन ।
सर्वोच्च प्रशासनले उक्त रिटलाई अध्ययन गरिरहेको छ । यसअघि सर्वोच्चमा १० वटा भन्दा बढी रिट संसद विघटन र सरकार गठनविरूद्ध परेका छन् । उक्त रिटको पहिलो सुनुवाइ बुधबार हुँदैछ ।
यता सर्वोच्च अदालत आफै न्याय पाउनका लागि प्रहरीमा उजुरी दिने तयारीमा छ । सर्वोच्चले क्षति विवरण सहित प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार केही दिनमा प्रहरीमा जाहेरी दिने तयारी छ ।
सर्वोच्चले आइतबार बसेको पूर्ण बैठकले जाहेरी दिने निर्णय गरेको हो । त्यसअनुसार जाहेरी दिन लागेको हो । ‘किटान गरेर जाहेरी दिँदैनौं। सर्वोच्चमा भएको क्षति विवरण सहित प्रहरीमा जाहेरी दिन्छौं। पछि प्रतिवादी खुलेसँगै प्रहरीले मुद्दा अघि बढाउला,’ सहरजिस्ट्रार कोइरालाले भने ।
जेनजी आन्दोलनपछि भदौ २४ गते भएको आगलागीमा परी दुई लाख १७ हजार ३४ वटा मुद्दाका मिसिल आगलागीबाट नष्ट भएका छन् । आगलागी भएका दिनमा चालु अवस्थामा २४ हजार २ सय ३४ वटा मिसिल थियो । जसमध्ये २० हजार ३४ वटा मिसिल पूर्ण क्षति भएको हो ।
आगलागीबाट ४ हजार २ सय मिसिल भने जोगिएका छन् । जसमध्ये २ हजार ५ सय ९ वटा रिटका मिसिल छन् भने १ हजार ६ सय ९१ मुद्दा छन् । त्यस्तै सर्वोच्च अदालतको अभिलेखमा रहेका १ लाख ९७ हजार मिसिल पनि नष्ट भएका छन् ।
सर्वोच्च अदालत बाहेक उच्च अदालत र जिल्ला अदालतहरूमा पनि आगजनीमा व्यापक क्षति भएको छ । देशभरका अदालतमा भएका मुद्दा चलिरहेका ६ हजार ५ सय ३३ मिसिल जलेका छन् । त्यस्तै अभिलेखमा रहेका ७ लाख ०६ हजार ७१ वटा मिसिल ध्वस्त भएका छन् ।
त्यस्तै तहसिल तर्फको ४ हजार १ सय ८५ मिसिल नष्ट भएको छ । सर्वोच्च अदालत सहित देशभरका अदालतमा ठूलो संख्यामा सवारी साधन र कार्यालयका सामानमा समेत भदौ २४ गते क्षति पुगेको छ ।
देशभरका अदालतमा गरी ४ सय २२ वटा सवारी साधन पूर्ण रूपमा क्षति भएका छन् । सर्वोच्च अदालतमा ४३ वटा चार पांग्रे गाडी जलेका छन् । अदालतहरूमा भएका १ हजार ४ सय ९२ वटा कम्प्युटर, ६ सय ३५ ल्यापटप, ४ सय ४५ वटा सिसी क्यामरा पनि ध्वस्त भएको छ ।










