एजेन्सी, मंसिर १
साउदी पत्रकार जमाल खशोग्जीको हत्या मामिलामा साउदी अरेबियाका ५ अधिकारीविरुद्ध मृत्युदण्ड सुनाउन सकिने जनाइएको छ । टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्र खसोगीको हत्या गरिएको थियो।
अभियोजकहरूले यस मामिलामा प्रत्यक्ष रूपमा युवराज मोहम्मद बिन सलमानलाई क्लिनचिट दिँदै उनी यसमा संलग्न नभएको बताएका छन् । अभियोजकहरूको यो घोषणा अत्यन्त अर्थपूर्ण रूपमा लिइएको छ। खसोगीको हत्यालाई लिएर विश्वका कयौं देश साउदी सरकारमाथि दबाब दिइरहेका छन् ।
पत्रकार खशोग्जी अमेरिकी अखबार वासिङ्टन पोस्टका स्तम्भकार थिए र साउदी शासकका कट्टर आलोचक थिए। सरकारी अभियोजकको कार्यालयका प्रवक्ताले खसोगीलाई नशालु पदार्थ दिइएको र त्यसपछि उनको शरीर टुक्राटुक्रा पारेको बताएका छन्।
पत्रकारको शवका टुक्रा वाणिज्य दूतावासबाहिर एक एजेन्टलाई दिएको पनि उनले बताए। हत्याका बारेमा युवराज मोहम्मदलाई कुनै जानकारी नभएको उनले प्रष्ट पारे।
साउदी अरेबियाको गुप्तचर विभागका उपप्रमुख जनरल अहमद अल असिरीले खसोगीलाई देशमा ल्याउन आदेश दिएको प्रवक्ताले जानकारी दिए। इस्तान्बुल वाणिज्य दूतावास गएको टोलीका प्रमुखले नै हत्याको आदेश दिएको उनले बताए।
सरकारी अभियोजकले हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको सजाय माग गरेका छन्। उक्त हत्याको मामिलामा २१ जनालाई हिरासतमा लिइएको पनि एक विज्ञप्तीमा उल्लेख गरेको छ। यसैबीच टर्कीले हत्याको मामिलामा अन्तर्रािष्ट्रय जाँचको माग गरेको छ।