ताप्लेजुङ, पुष ११
ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । विभिन्न कारण देखाउँदै आठ वर्षदेखि निर्माण हुन नसकेको मोटरेबल पुलको काम मंसिर अन्तिम साताबाट सुरु भएको छ ।
तमोर करिडोरको उत्तरी ढोका मानिएको पुल फागुन मसान्तसम्ममा सक्ने गरी काम थालिएको तमोर करिडोर आयोजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।
खोलाको वहाव घटेकाले अहिले द्रुत गतिमा काम भइरहेका छ । यस पटक भने बहाव बढ्नु अघिनै निर्माण सक्ने तयारी भैरहेको नेपालीले बताए ।
१० करोड रुपैयाँको लागतमा निर्माण गर्ने गरी २०६६ सालमा कन्काई, मैनाचुली र याक्थुङ्हाङ गरी तीन वटा कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग सम्झौता गरेका थिए भने ठेकेदारले सम्झौता अनुसार काम नगर्दा पुल निर्माण नभई अलपत्र परेको हो ।
दुई वर्ष अघि निर्माण कार्यले केही गति लिए पनि तमोर नदीमा आएको बाढीले निर्माणाधीन पुलका सबै सामग्री बगाएपछि निर्माण कार्य रोकिएको थियो ।