एजेन्सी, माघ २८
गएराती भएको खेलमा अथ्लेटिक बिल्बाओसंग १-१ अंक बाडेको खण्डमा रियल मड्रिडले ६ अंकको दुरी छोट्याएको छ । नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न खेलमा बार्सिलोनालाई लिगको १४औं स्थानको एथ्लेटिक बिल्बाओले गोलरहित बराबरीमा रोकेको हो ।
घरेलु टोली बिल्बाओले उत्कृष्ट रक्षात्मक खेल पस्किएपछि उसले लिग लिडर बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्दै १ अंक लिन सफल भयो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा घरेलु टोली बिल्बाओले तुलनात्मक रूपमा बढी राम्रा गोलका अवसर बनाएको थियो । तर, बार्सिलोनाका जर्मन गोलरक्षक मार्क आन्द्रे टर स्टेगेनले उत्कृष्ट बचाउ गर्दै बार्सिलोनालाई गोल खानबाट बचाएका थिए ।
दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर बुनेका थिए । तर, त्यसमा दुवै टोलीका गोलरक्षकले एकअर्काका आक्रमण विफल पारिदिए । निर्धारित ९० मिनेट र थप समयमा समेत गोल हुन नसकेपछि खेल ०–० मा टुंगियो ।
यो खेलमा बार्सिलोना बराबरीमा रोकिँदा यसको सोझो फाइदा भने लिगको दोस्रो स्थानको रियल मड्रिडलाई पुगेको छ । यदि बार्सिलोनाले यो खेल जितेको भए उसले रियलसँग ८ अंकको स्पष्ट अग्रता बनाउने थियो ।
अब बार्सिलोनाले २३ खेलबाट कूल ५१ अंक बनाएको छ । ऊ दोस्रो स्थानको रियलभन्दा ६ अंकले अघि छ । यता, बिल्बाओ समान २३ खेलबाट २७ अंकसहित १३औं स्थानमा बसेको छ । यस खेलमा घरेलु टोली बिल्बाओ खेलको ९१औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । ओस्कार डे मार्कुस दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए ।
रियल मड्रिडले २३ खेलमा १४ जित ३ बराबरी र ६ खेलमा हार भोगेर ४५ अंक जोडेको छ भने, समान खेलमा बार्सिलोनाले १५ जित ६ बराबरी र २ खेलमा हार भोगी ५१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।