झापा, फागुन ७
मानव बेचबिखनको जोखिममा परेका १ सय ७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर मंगलबार झापाको काँकडभिट्टा नाका हुँदै नेपाल फर्काइएको छ । नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई) लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महिनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल र्पुयाएका थिए ।
मणिपुरबाट म्यान्मार हुँदै खाडी मुलुक लैजाने तयारी गरिरहेकै अवस्थामा माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरी पूर्वी नाका काँकडभिट्टाबाट नेपाल फर्काएको हो । उद्धार गरिएकामा १ सय ४७ महिला र ३२ पुरुष छन् ।
उनीहरुलाई सोमबार मणिपुरबाट आसामको गुवाहाटी ल्याइएको र त्यहाँबाट आठ वटा बसमा राखेर पूर्वीनाका काँकडभिट्टा हुदै नेपाल ल्याइएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए । काँकडभिट्टाबाट ६ बसमा राखेर उनीहरुलाई काठमाडौँ लगिएको छ ।
उद्धार गरिएकालाई काठमाडौँका विभिन्न पुर्नस्थापना केन्द्रमा राखिने र घटनाबारे थप अनुसन्धान गरी सम्लग्नलाई कारवाहीको प्रक्रिया अगाडी बढाउने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताए ।