काठमाडौं, चैत १०
आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी एसईईको परिक्षामा सहभागी भएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक समेत रहेकी सांसद चौधरी महेन्द्र मावि तुलसीपुर केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् ।
उनकी १७ वर्षीया छोरी बिनुले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन्।
उनि एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद हुन्। ३८ वर्षीया सांसद चौधरीले खुला विद्यालय प्रणालीमा पढेकी हुन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो ।
उनले सम्पूर्ण परीक्षार्थीमा सफलताको शुभकामना पनि व्यक्त गरेकी छिन् । उनले फेसबुकमा लेखिकी छिन्, ‘आजबाट सुरु हुने एसईई परीक्षामा सामेल हुन जाँदैछु । परीक्षाको तयारी गर्दै गर्दा मेरा आफन्तजन , शुभेच्छुक , शुभचिन्तक र मिडियाकर्मी मित्रहरूले मलाई जुन खालको उत्साह थपिरहनु भएको छ , ढाडस दिई रहनु भएको छ यसले मलाई थप हौसला मिलेको छ । हामी सम्पूर्ण परीक्षार्थीमा सफलताको शुभकामना व्यक्त गर्दछु । ’
यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।