एजेन्सी, चैत १४
इंग्ल्यान्डका लिजेन्ड फुटबलर डेभिड बेकह्यामले आगामी २ वर्षपछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिआनेल मेस्सीलाई एकै क्लबबाट खेलाउने योजना बुनेका छन् । उनले केही समयअघि मात्रै अमेरिकामा नयाँ क्लब ‘इन्टर मियामी’ स्थापना गरेका छन् ।
बेकह्यामले सोही क्लबमा मेस्सी र रोनाल्डो दुवैलाई भित्र्याउने योजना बुनेका हुन् । यो कुरा बेकह्यामले विभिन्न समयमा बताउँदै आएका पनि छन् ।
यसका लागि बेकह्यामले आफूसँग ‘मास्टर प्लान’ रहेको पनि बताएका छन् । बेकह्यामको टोलीले सन् २०२० बाट नर्थ अमेरिकन लिगमा प्रवेश पाउँदैछ । उक्त लिगमा उनले सुरुबाटै ठूला र स्टार खेलाडी भित्र्याउने योजना बुनिरहेका छन् । त्यसका लागि बेकह्याम अहिले आफ्नो टोलीका लागि घरेलु रंगशाला तयार पार्न जुटिरहेका छन् ।
हालसालै एक मिडियासँग बोल्दै उनले भनेका छन्, ‘म अमेरिकाको सबैभन्दा ठूलो र उत्कृष्ट टोली बनाउन चाहन्छु । र, त्यसका लागि केही उत्कृष्ट खेलाडीलाई मियामीमा भित्र्याइने छ ।’
बेकह्यामको महत्त्वकांक्षी योजनामा रोनाल्डो र मेस्सी मुख्य हुनेछन् । उनले यो बताइसकेका छन् । मेस्सीलाई बार्सिलोनासँग करार अवधि पूरा हुनासाथ आफ्नो क्लबमा ल्याउने उनको योजना छ ।
जब मेस्सीको सम्झौता बार्सिलोनासँग सकिन्छ, उनी ३३ वर्षका हुनेछन् । बार्सिलोनासँग मेस्सीको अझै २ वर्ष सम्झौता बाँकी नै छ । बेकह्यामले यो बुझेका छन् कि, मेस्सीले बार्सिलोना छाडेपछि कम्तीमा ३ वर्ष फुटबल राम्ररी खेल्न सक्छन् ।
‘मेस्सीलाई भित्र्याउन हामीसँग अझै २ वर्ष समय छ, हामी तयारी गर्छौं,’ बेकह्यामले भनेका छन् । अहिले नै मेस्सी र रोनाल्डो कुनैबेला एकै क्लबबाट खेल्न सक्छन् भन्दा जो कोहीलाई पत्याउन गाह्रो पर्ला । तर, बेकह्यामले यसका लागि अहिले नै तयारी थालिसकेका छन् ।
हाल ३४ वर्ष पुगेका रोनाल्डोले युभेन्टससँग ४ वर्षे सम्झौता गरेका छन् । अबको २ वर्षपछि बेकह्यामले रोनाल्डोलाई मियामीमा भित्र्याउन प्रयास गर्दा रोनाल्डो ३६ वर्षका भइसक्ने छन् । बेकह्याम यही गर्ने योजनामा छन् ।
बेकह्यामले यसअघि एक अन्तर्वार्तामा १० वर्ष फुटबलमा कट्टर प्रतिस्पर्धी रहेर खेलेका रोनाल्डो र मेस्सी आफ्नो क्लबमा एकै जर्सीमा खेल्न सक्ने र आफूले त्यो गरेर देखाउने भन्दै ठट्टा गरेका थिए । र, भविष्यमा उनले यसलाई सार्थकता दिने सम्भावनासमेत छ ।
त्यसैगरी, बेकह्यामले आफ्नो क्लबमा भित्र्याउन चाहेका अर्का खेलाडी एन्टोनी ग्रीजम्यान हुन् । ग्रीजम्यानले त यसअघि नै आफू ढिलो–चाँडो बेकह्यामको क्लबमा जाने इच्छा जाहेर गरिसकेका छन् ।
‘यदि बेकह्यामले मलाई उनको टिममा चाहन्छन् भने म अवश्य पनि त्यहाँ हुन सक्छु,’ उनले भनेका छन् ।
यो समयका विश्वका सुपरस्टार खेलाडी ताकिरहेका बेकह्यामले टोलीको प्रशिक्षकचाहिँ कसलाई बनाउलान् ?
हो, मियामीको कोचका लागि बेकह्यामले फ्रान्सका जिनेदिन जिदानलाई पहिलो नम्बरमा राखेका छन् । उनीहरूबीच यसअघि नै पहिलो चरणको छलफल भइसकेको रिपोर्ट यसअघि सार्वजनिक भएको थियो ।










