आज थारु समुदायको नयाँबर्ष माघी पर्व

आज थारु समुदायको नयाँबर्ष माघी पर्व

काठमाडौँ  :  थारु समुदायका मानिसले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँदैछन्। यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन्। सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ। माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिएको माघी पर्वको अध्ययन अनुसन्धानमा लाग्नुभएका कृष्णराज सर्वहारीले जानकारी दिए।

आफूभन्दा ठूलासँग आशीर्वाद लिई सानालाई आशीर्वाद दिने गरिन्छ, बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारु समुदायमा छ”–उनले भने। विसं २०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो। यसैले यस पर्वलाई उन्मुक्तिको पर्व भनेर थारु समुदायमा चिनिन्छ।

माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ। बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन्। यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन्।

यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ। कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता पनि यस समुदायमा छ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा पनि छ। तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत समेत छ।

गाउँका मुखिया, महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि अगुवा छनोट गर्छन्। थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ। बीचमा फेरबदल हुँदैन। यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ।

नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाको प्रारम्भ हुनु अघिदेखि नै थारु समुदायमा माघ १ गते अगुवा चुन्ने प्रचलन थियो। २० वर्षसम्म स्थानीय निर्वाचन नहुँदा पनि थारु बाहुल्य भएका ठाउँ जनप्रतिनिधिविहीन नभएको अध्येता सर्वहारीले बताउनुभयो। थारु समुदायले वर्षभरी गरेका कामको समीक्षा आजैका दिन गर्छन्।

विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई तराई क्षेत्रमा खिचडी भन्ने चलन पनि छ। थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन्। विवाह, यात्रा, बसाइँसराइँका लागि माघीका समयमा साइत हेर्न नपर्ने विश्वास पनि थारु समुदायमा छ। रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.