काठमाडौं ,बैशाख १८
केही समय अघिसम्म देशमा काम पाइएन भन्दै विदेश जाने युवाहरुको संख्या अत्याधिक थियो । गाउँ नै रित्तो पारेर युवाहरु वैदेशिक रोजगारीमा जान्थे । तर पछिल्लो समय युवाहरु आफ्नै देशमा/आफ्नै गाउँठाउँमा भेटिन थालेका छन् । युवाहरुले आफैँ फर्म खोलेर स्वरोजगार हुन थालेको पाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७५/७६ मा व्यवसायिक फर्म दर्तामा ७५ प्रतिशत वृद्धि भएको छ । विभागका अनुसार आव २०७४/०७५ मा निजी १६ हजार ७४३, साझेदारी १५ र एजेन्सी १७९ वटा दर्ता भएका थिए ।
आव २०७५/०७६ मा निजी २८ हजार ८११, साझेदारी ७६५ र एजेन्सी ९१ वटा फर्म दर्ता भएका छन् । आव २०७४/०७५ को तुलानामा २०७५/०७६ मा निजी १२ हजार ६८ वटा बढी फर्म दर्ता भएका छन् ।
२०७४/०७५ मा साझेदारी १६ वटा फर्म दर्ता भएका थिए भने २०७५/०७६ मा ७६५ वटा दर्ता भएका छन् । एजेन्सी फर्म दर्ता भने २०७५/७६ मा कमी भएको छ । २०७४/०७५ मा एजेन्सी फर्म १९७ वटा दर्तामा भएका थिए भने २०७५/०७५ मा ९१ वटा मात्रै दर्ता भएको छ ।
हालसम्म निजी १ लाख ५५ हजार ७६१, साझेदारी ८७३ र एजेन्सी ३४७ वटा फर्म गरी १ लाख ५७ हजार ९७९ फर्म दर्ता भएका विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका फर्महरु मध्ये निजी ३ हजार ३७ र साझेदारी ५३ वटा खारेज भएका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी रघुनाथ महतले स्थानीय तहमा दर्ता भएका फर्महरुलाई ऋण नदिएको कारणले पनि वाणिज्यमा नै आएर दर्ता गरेकाले संख्या बृद्धि भएको हो । बैंकबाट ऋण लिनका लागि पनि वाणिज्यमा नै आएर फर्म दर्ता गरेको बताइएको छ ।
महिला, दलित, पिछडिएका वर्ग र अपाङ्गता भएकाहरुलाई १ करोडको फर्म दर्ता गर्दा १०० रुपैंया र १ करोड देखि ५० करोडसम्मको फर्म दर्तामा ५० प्रतिशत कर छुट दिएको कारणले पनि फर्म दर्तामा वृद्धि आएको महतले बताए ।(विकास न्युजबाट)