एजेन्सी, जेठ १२ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले मिसाइल परीक्षण गरेको राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनको भनाइ खारेज गरेका छन् । जापान भ्रमणमा रहेका ट्रम्पले ट्वीटमार्फत उत्तरको मिसाइललाई साना हतियार भन्दै यसबाट केहीलाई बाधा परे पनि आफुलाई भने केही नगरेको उल्लेख गरेका छन् । उनले उत्तर कोरियाली नेता किम जोङ उनको निशस्त्रीकरणको प्रतिबद्धताप्रति आफु विश्वस्त रहेको जनाएका छन् । गत हप्तामात्र जापानका प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाको मिसाइल परीक्षण अत्यन्त निन्दनीय भएको बताएका थिए । बोल्टन र आबे दुवैले उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रस्तावना उल्लंघन गरेको आरोप लगाएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प र उनका राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनबीच यसअघि पनि भेनेजुयला र इरानसँगको सम्बन्धलगायतका विदेश नीतिका विषयमा मत विभाजित भएको थियो ।
सल्लाहाकार जोन बोल्टनको भनाइ प्रति अमेरिकी राष्ट्रपति ट्रम्प असहमत
१२ जेष्ठ २०७६