एजेन्सी, असार १२
रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।
साइबेरियाको निझनियनगास्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा बिमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन्। एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो। उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो।

आपतकालीन अवतरण गरेको बिमानले धावनमार्ग नजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो। बिमानमा सवार २२ जना घाइते भएको रासियाली समाचार संस्था तासले जनाएको छ। ४४ जनाको उद्धार गरिसकेको उसले उल्लेख गरेको छ।
दुर्घटनाग्रस्त बिमानमा तत्कालै आगलागी पनि भएको थियो। रुसी उड्डयन प्राधिकरणले दुर्घटनाको बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ।
