विराटनगर, फागुन २०
विराटनगरको प्राइम सहकारी संस्थाले बचत भुक्तानी नदिएको भन्दै सहकारीका बचत कर्ता आक्रोसित भएका छन् । सहकारीले लामो समयदेखि बचत नदिएर झुक्याएको भन्दै बचतकर्ताले सहकारी डिभिजन कार्यालय मोरङमा उजुरी समेत दिएका छन् ।
सहकारीले लामो समयदेखि आफूहरुको बचत भुक्तान नगरेको भन्दै आक्रोसित बनेका उनीहरुले सहकारीमा तालाबन्दी नै गरेका छन् । सहकारीका सचिव किशोर श्रेष्ठले साउन अन्तिम साता आएको बाढीले बचत संकलनमा समस्या आएको र बचत जम्मा गर्नेहरु एकै पटक भूक्तानी माग गर्न थालेपछि समस्या भएको बताए । उनले १५ दिन भित्रमा भुक्तानी गरिसक्ने बताए ।
सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख रामप्रसाद चापागाईंले आफू कहाँ उजुरी आएपछि सहकारी सञ्चालक र पिडित पक्षबीच आज छलफल गराएर १७ दिनभित्र भुक्तानी दिनेलिने भनी दुबै पक्षसँग कागज गराईएको बताए ।
७ सय ७३ सेयर सदस्य रहेको सहकारीको सेयर पूंजी १ करोड ४ लाख, निक्षेप संकलन ७ करोड र ऋण परिचालन ९ करोड गरेको तथ्याङ्क छ ।