१६ मंसिर, काठमाडौं । धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
सुनसरी जिल्ला अदालतले सोमबार गिरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार सोमबार बिहान पक्राउ परेका गिरीलाई स्वास्थ्य परीक्षणपछि अदालत लगिएको थियो ।
अदालतले जबरजस्ती करणी मुद्दामा थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पनि स्वास्थ्य अवस्थाका कारण गिरीलाई पुनः अस्पताल नै पठाइएको छ ।
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई सुनसरी प्रहरीले अस्पतालको आइसियूबाटै पक्राउ गरेको थियो ।
सुनसरी प्रहरीका प्रवक्ता डिएसपी विनोद शर्माको टोलीले गिरी बिहान करिब ५ बजेतिर उनी उपचाररत् विराटनगर अस्पतालबाट पक्राउ गरेको थियो ।
गिरीलाई ‘माइनर हार्टअट्याक’ भएपछि आइसियूमा राखेर उपचार थालिएको विराटनगर अस्पतालले जनाएको छ ।