झापा, फागुन २२
टाइब्रेकरमा जित निकाल्दै मनाङ मनाङ मस्र्याङदी क्लब तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले टाइब्रेकरमा सहारा क्लब पोखरालाई ४—३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो । टाइब्रेकरमा सहारा पोखराका भिषण गुरुङको प्रहार बाहिरिएको थियो भने टीम कप्तान समेत रहेका मानबहादुर तामाङको प्रहार मनाङका गोलरक्षक दिनेश थापामगरले बचाएका थिए ।
मनाङका तर्फबाट सुजल श्रेष्ठ, बिमल बस्नेत, अन्जन बिष्ट, डोना थापाको प्रहारले जाली चुमेको थियो । पोखराका बिजय श्रेष्ठ, रन्दिप पौडेल र बिशव अधिकारीले मात्र गोल गर्न सकेका थिए ।
खेल अवधिभर मनाङ मस्र्याङदी क्लबले बललाई आफ्नो पकडमा राख्न सफल भएपनि गोल गर्ने अवसर भने खेर फ्यालेको थियो । खेलको म्यान अफ द म्याच मनाङका अन्जन बिष्ट घोषित भए ।
उनले नगद २५ हजार रुपैंया पुरस्कार पाएका थिए । भोलिको क्वाटरफाइनल खेल आयोजक रमपम झापा ११ र सिक्किम युनाइटेड बीच हुने आयोजक समितिले जनाएको छ ।