१४ माघ, काठमाडौं ।
नेपाली सेनाले हितधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निः शुल्क अध्ययन गराउने भएको छ ।
दाङको घोराही तथा सुर्खेतमा आयोजित सम्मेलनमा प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक महाविद्यालयहरुमा हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि १२ सम्म निःशुल्क अध्ययन गराउने कार्यक्रम अघि बढेको बताएका हुन् ।
शिक्षाको पहुँचबाट बञ्चित नहुन भनेर आगामी शैक्षिक शत्रबाट नै लागु हुनेगरी हिताधिकारी मध्ये श्रीमान् तथा श्रीमति दुबैको मृत्यु भइ टुहुरा भएका बालबालिकाहरुका लगि उक्त अवशर प्रदान गरिने उनले बताए ।
प्रधानसेनापति थापाले स्वरोजगार कार्यक्रम अन्तर्गत सैनिक श्रीमत संघको पहलमा व्यवसायिक तालिम केन्द्र छाउनीबाट सुरु भएको सीपमुलक कार्यक्रम प्रितना तहसम्म यहि वर्षबाट विस्तार गरिएको बताए । यस्तै नेपाली सेनाले सैनिक दिवसका अवशरमा काठमाडौं उपत्यकाबाट सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ ।
बजारमूल्य भन्दा १० देखि १९ प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराउने योजना सेनाले लिएको छ । नेपाली सेनाले लमजुङको बेसिशहरमा स्थापना गरेको नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिमकेन्द्रमा पिजेटिए र भिजेटिएका अतिरिक्त अन्य छोटो अवधिका तालिम सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रबाट सम्बन्धन प्राप्त गरेको थापाले बताए ।
नेपाली सेनाले उद्यमशिलता कर्जा कार्यक्रम पनि सुरु गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको संग सहकार्य गरी सेनाले बढीमा १५ लाखसम्म कर्जा लिन मिल्ने व्यवस्था गरेको हो । भूतपूर्व सैनिक श्रीमती, एकल महिला तथा अविवाहित छोरीलाई बढीमा ५ वर्षका लागि ३ दशमलव ९८ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ ।