१२ चैत, वीरगन्ज । लकडाउनका कारण अन्य सवारी साधन नपाएपछि कन्टेनरभित्र लुकेर ५२ जना मंगलबार मध्यरातमा वीरगन्ज आइपुगेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । हेटौंडा, भरतपुर, काठमाडौंबाट कन्टेनरमा बसेर आएका उनीहरुलाई प्रहरीले वीरगन्जको घन्टाघरमा नियन्त्रणमा लिएको थियो ।
काठमाडौंको सतुंगलस्थित इन्जिम हार्डवेयरमा आल्मुनियम अनलोड गरी मंगलबार वीरगन्ज फर्किने क्रममा ना५ख ९५५२ नम्बरको खाली कन्टेनरमा काठमाडौं, चितवन र हेटौंडाबाट ५२ जना यात्रु चढेका थिए। लकडाउन उल्लंघन गरी मालवाहक कन्टेनरमा यात्रु आइरहेको जानकारी पाएपछि मंगलबार राति पर्सा प्रहरीले उनीहरुलाई घन्टाघरबाट नियन्त्रणमा लिएको हो।
सबै यात्रु र चालकलाई बुधबार बिहान क्वारेन्टाइनमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जनाए। प्रहरी नायब उपरीक्षक विरेन्द्र शाहीका अनुसार लकडाउन उल्लंघन गरी खाली कन्टेनरमा यात्रु लुकेर वीरगन्ज आएको सूचना पाएपछि प्रहरीले मंगलबार मध्यरातमा वीरगन्जको घन्टाघर चोकबाट उक्त मालवाहक कन्टेनर नियन्त्रणमा लिएर चेक गरेको थियो। कन्टेनर खोलेर हेर्दा ५२ जना भित्र बसिरहेका थिए। लरी चालक शिवनारायण महरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिव्यक्ति २ सय रुपैयाँ भाडा लिने गरी चालकले कन्टेनरमा चढाएको यात्रुले खुलाएका छन्। कन्टेनरमा आएका यात्रु पर्सा, बारा र रौतहटका स्थायी बासिन्दा हुन्। जीविकोपार्जनका लागि गएका उनीहरु सरकारले लकडाउन गरेपछि अन्य सवारीसाधन नपाएपछि कन्टेनरमा लुकेर आएको बताएका छन्।
सुरुमा चालकले कन्टेनरमा चढाउन नमानेपछि हारगुहार गर्नुपरेको चितवनको भरतपुरबाट चढेका पर्सा मुड्लीका सन्दीप कलवारले बताए। चालक महराले यात्रुले बाटो नै छेकेपछि चढाउन बाध्य भएको दाबी गरेका छन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहेका बस्नेतले लकडाउनमा यात्रु ओसार्ने चालकलाई संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने बताए।