१२ बैशाख, काठमाडौँ । लकडाउनका कारण नेपालमा अलपत्र परेका ७६ जना आफ्ना नागरिक लिएर श्रीलंकाको ध्वजावाहक वायुसेवा श्रीलंकन जहाज कोलम्बो फर्किएको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार, श्रीलंकनको एयरबस ३२० चार्टर जहाज शुक्रबार बिहान साढे ११ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो र साढे १२ बजे कोलोम्बो फर्केको छ ।
विमानको काठमाडौंमा व्यवस्थापनको जिम्मा लिने जेनिथ ट्राभल्स प्रालिका प्रबन्ध निर्देशक जोय देवानका अनुसार ७६ जना श्रीलंकाली विद्यार्थी, पर्यटक कोलम्बो फर्किएका छन् ।
काठमाडौंमा रहेको श्रीलंकन दूताबासको संयोजनमा यो चार्टर उडानलाई प्राधिकरणको एयर ट्रान्सपोर्ट डिभिजनले बिहीबार अनुमति दिएको थियो । प्राधिकरणले लकडाउनको अवधिमा कुनै पनि विदेशी चार्टर्ड वायुसेवा कम्पनीलाई ७२ घन्टाको अवधि तोकेर अनुमति दिने गरेको छ । कोलम्बोबाट यो विमान बिना यात्रु काठमाडौं आइपुगेको थियो ।
लकडाउन यताकै यो ३३ औं अन्तर्रा्ष्ट्रिय चार्टर्ड उडान हो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यसअघि २३ वटा यात्रु र कार्गोतर्फ ९ वटा अन्तर्रा्ष्ट्रिय उडान भएका छन् ।