१४ बैशाख, पोखरा । गत माघ ३ गते अन्नपूर्ण पदमार्गमा आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ७ जना मध्ये थप दुई जनाको शव फेला परेको छ । शनिबार दुई कोरियनको शव फेला परेको हो ।
हराएका ४ कोरियन र ३ नेपालीमध्ये २ नेपाली गाइडको शव यसअघि नै फेला परिसकेको छ । हिमपहिरो आएको ठाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित हिंकु खोंच र देउरालीको बीचमा मोदी नदी किनारमा शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार प्रहरी, स्थानीय र एक्यापको टोलीले शव फेला पारेका हुन् । कोरियन नागरिकको शव भए पनि पहिचान नखुलेको उनले बताए ।
शव लिन नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा बसेको छ । पोखराबाट प्रहरीसहितको टोली घटनास्थल पुगेर शव पोखरा ल्याउनेछ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर आज नै शव काठमाडौं लगिनेछ । काठमाडौंमा रहेका उनीहरुको आफन्तलाई शव बुझाइने प्रवक्ता केसीले बताए । बाँकी बेपत्ताको खोजी कार्य जारी रहेको उनले जनाए ।