१४ वैशाख, काठमाडौं ।
चिनियाँ पर्यटकहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
चिनिया पर्यटकहरुले आफुहरु आफ्नो घर फिर्ता हुन पाउनु पर्ने माग गर्दै काठमाडौंको भृकुटीमण्डप स्थित पर्यटन बोर्ड पुगेका हुन् । २५÷३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकहरु ‘हामी घर जान चाहन्छौं’ लेखिएका ब्यानर बोकेर पर्यटन बोर्ड पुगेका हुन् ।
उनीहरुले चीन जानका लागि कुनै पनि उडान नभएको र आफुहरुलाई नेपाल छाडन कुनै पनि विकल्प नभएकोले अलपत्र परेको बताएका छन् । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन लागू गरेपछि उनीहरु स्वदेश फिर्ता हुन नपाएका हुन् ।
उनीहरुले कोभिड–१९ को महमारी फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर चिनियाँ सरकारले नेपालमा कुनैपनि चार्टर उडान अनुमति दिन नचाहेकोले पहल गरिदिन आग्रह गर्न नेपाल पर्यटन वोर्डको कार्यालय पुगेका हुन् । यस्तै चिनियाँ दुतावासले पनि घर फिर्ताका लागि कुनैपनि व्यवस्था नगरी होटलमा नै सेल्फआइसोलेसनमा बस्न आग्रह गरेको भन्दे असन्तुष्टि जनाएका छन् ।
उनीहरुले नेपालका विभिन्न ठाउँमा ४ सय भन्दा बढीको संख्यामा रहेका चिनियाँ पर्यटकहरु अलपत्र परेको बताएका छन् । त्यसमध्ये केही गर्भवती महिलाहरु समेत रहेको उनिहरुले बताए । यस्तै केही विद्यार्थीहरु रहेको र उनिहरुको कलेज छुटेको समेत उनीहरुले बताए ।
उनिहरुले दुई चिनियाँ एयरलाइन्सहरुले आउटबाउन्ड उडान अनुमति पाए चिनियाँ नागरिकलाई लैजान तयार रहेको बताउँदै ती उडानहरु सञ्चालन हुने व्यवस्था मिलाईदिन आग्रह समेत गरेका छन् । उनिहरुले नेपालमा छैटौं हप्तापनि लकडाउन हुने सम्भावना रहेकाले आफुहरु अझबढी समस्यामा पर्न लागेको बताएका छन् ।