१४ वैशाख, काठमाडौं ।
सांसद डा.सुरेन्द्र यादवको अपहरणसम्बन्धि कसुरमा संलग्न विरुद्धको जाहेरी लिन महानगरीय प्रहरी परिसर, काठमाडौंले अस्वीकार गरेको छ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अस्वीकार गरेका हुन् ।
जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न टेकु पुगेका थिए।
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आफ्ना सांसद यादवको अपहरणसम्बन्धि कसुरमा जाहेरी लिन प्रहरीले नमानेको बताएका छन् । पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि ट्वीट मार्फत जाहेरी लिन अस्वीकार गरेको बताएका छन् । उनले लेखेका छन् –‘यत्रो देशविदेश तरंगीत गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसरमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दनि लाग्दा दर्ता गन्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?’
खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर आफुलाई काठमाडौं ल्याएको सांसद यादवले बयान दिएका छन् । समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरे ।खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।