२५ वैशाख, काठमाडौं ।
नेपालबाट अस्ट्रेलिया र न्युजिल्यान्डका नागरिकलाई लिएर गएको नेपाल वायुसेवा निगमको जहाज रित्तै फर्केको छ ।
सयौं नेपालीले अस्ट्रेलियाबाट उद्धार गरिदिन गरेको आग्रह अस्वीकार गर्दै बिहीबार सिड्नी गएको नेपाली ध्वजावाहक रित्तै फर्केको हो । काठमाडौंबाट बुधबार दिउँसो उडेको विमानमा १२७ अस्ट्रेलियाली नागरिक, १ सय ४९ स्थायी बासिन्दा र ५ न्युजिल्यान्डका नागरिक थिए ।
बिहान करिब ८ बजे अवतरण गरेको विमान सफाइ गरेपछि करिब ३ घण्टापछि फिर्ता आएको हो । अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई दोस्रोपटक उद्धार गरेर आफ्नै देश फर्काउने क्रममा नेपाल एयरलाइन्सको विमान दोस्रोपटक अस्ट्रेलिया लगेको हो ।
कोरोना भाइरसका कारण समस्यामा परेका अस्ट्रेलियास्थित सयौं नेपालीले स्वदेश फर्कन औपचारिक आग्रह गरेका भए पनि उनीहरूको गुनासो बेवास्ता गरिएको छ । नेपाली विमानमा फर्कन पाऊँ भन्दै हाल अस्ट्रेलियामा रहेका २ सय ८० भन्दा बढी नेपालीले नेपाली दूतावासमा औपचारिक अनुरोध गरेका थिए ।
उनीहरूले आफू नेपाल फर्कंदा लाग्ने भाडा बेहोर्ने, नेपाल पुगेर नियमअनुसार क्वारेन्टाइनमा बस्ने तथा क्वारेन्टाइनका लागि लाग्ने शुल्कसमेत तिर्ने प्रतिबद्धता जनाउँदासमेत आफूहरूको मागको सुनुवाइ नभएको भन्दै गुनासो गरेका छन् ।
यसअघि ब्रिसबन उत्रेको नेपाली विमान फर्कंदासमेत त्यहाँका नेपालीले आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन आग्रह गरेका थिए । तर आवश्यक प्रक्रियाका लागि समय अभाव भएको भन्दै दूतावास पन्छिएको थियो । क्यानबेरास्थित दूतावासले बिहीबार फर्कने विमानमा नेपाल जाने भन्दै करिब ३ सय नेपालीले निवेदन दिएको जनाएको छ ।
तर नेपाल सरकारले अनुमति नदिएका कारण आफूहरूले चाहेर पनि सहयोग गर्न नसकेको दूतावासको भनाइ छ । यद्यपि, दूतावासले आवश्यक पहल नगरेको पीडितहरूको गुनासो छ ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले आफूहरूले सक्दो प्रयास गरेको भए पनि अहिले नेपालको नीति नै विदेशका नागरिकलाई फिर्ता नल्याउने रहेकाले उनीहरूलाई फिर्ता पठाउन नसकिएको बताए ।
‘हामीले धेरै नेपालीको अनुरोध आएका कारण औपचारिक रूपमा र मौखिक रूपमा समेत यहाँको वस्तुस्थितिबारे जानकारी गराएका थियौं तर सरकारबाट अनुमति नआएका कारण फिर्ता पठाउन नसकिएको हो,’ राजदूत दाहालले भने ।
दाहालले नेपालीलाई स्वदेश फर्काउन आवश्यक सहयोग उपलब्ध गराइदिन अस्ट्रेलिया सरकारलाई पत्राचारसमेत गरेको दाबी गरे ।










