Nepal Times
Nepal Times
3
Shares

दोस्रो चरणको निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुरु

दोस्रो चरणको निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुरु

काठमाडौँ, १६ कातिक
दोस्रो चरणमा मंसिर २१ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्य आज विहान १० बजेदेखि शुरु भएको छ ।

उम्मेदवारले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सक्नेछन् ।

उम्मेदवार बिहानैदेखि नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवार मनोनयन दर्ता कसरी गर्ने, केकस्ता कागजात समावेश गर्नुपर्छ भनेर सोधखोज गरिरहनुभएकोे पाइएको छ । कतिपय उम्मेदवार जुलुससहित उम्मेदवार मनोनयनपत्र दर्ता गराउन जानेक्रममा रहेको बुझिएको छ ।

प्रमुख राजनीतिक दलले उम्मेदवार छनोटमा ढिलाइ गरेका कारण कतिपय स्थानमा उम्मेदवारलाई मनोनयन गर्न आवश्यक कागजात मिलाउन हतारो भएको छ । निर्वाचन आयोगले उम्मेदवार मनोनयनलाई सभ्य र शान्त तुल्याउन भनेको छ ।

उम्मेदवारी दर्ता गर्न के गर्ने

मनोनयनपत्र पेश गर्दा वा गराउँदा एकजनाले प्रस्ताव र अर्काे एक जनाले समर्थन गरी सही छाप गरेको हुनुपर्नेछ । त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति हुनुपर्नेछ । निजले आफ्नो नाम मतदाता नामावलीमा समावेश भएको निस्सासमेत मनोनयनपत्र साथ संलग्न गरेको हुनुपर्नेछ ।

कुनै व्यक्तिको मनोनयनपत्र पेश गर्दा वा गराउँदा फरकफरक व्यक्ति प्रस्तावक र समर्थक रहेका बढीमा दुईवटा मनोनयनपत्र पेश गर्न वा गराउन सकिनेछ । प्रस्तावित व्यक्तिले मनोनयन पत्रमा आफ्नो मञ्जुरी लेखी सहीछापसमेत गरेको हुनुपर्नेछ ।

दलको औपचारिक पत्र पेश गर्नुपर्ने

दलले आफ्नोतर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहका समितिको पदाधिकारीको हस्ताक्षरसहितको औपचारिक पत्र आवश्यक पर्ने छ । एकल चुनाव चिह्न लिई संयुक्तरुपमा निर्वाचनमा सहभागी हुने दलहरुको तर्फबाट औपचारिकपत्रमा दस्तखत गर्न अलगअलग पदाधिकारीको दस्तखत नमूना पेश गर्नुपर्ने छ ।

दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा रित नपुर्याई मनोनयनपत्र दाखिला भएमा त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रुपमा मान्यता दिइने छैन । नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपी पनि मनोनयनपत्रका साथ पेश गर्नुपर्नेछ ।

महिलालाई ५० प्रतिशत धरौटी छुट

उम्मेदवारको मनोनयनपत्र पेश गर्दा प्रतिनिधिसभा सदस्यका लागि रु १० हजार र प्रदेश सभा सदस्यका लागि रु पाँच हजार लाग्नेछ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । धरौटी राख्दा निर्वाचन अधिकृतको कार्यालयमा नगद दाखिला गरी सोको नगदी रसिद वा आयोगले तोकेको धरौटी खातामा रकम जम्मा गरिएको सक्कल बैंक भौचर मनोनयनपत्र साथ पेश गर्नुपर्नेछ ।

निर्वाचन हुने ४५ जिल्ला

दोस्रो चरणको निर्वाचन हुने जिल्लामा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट तथा प्रदेश नम्बर ३ को सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर छन् ।

त्यस्तै, प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा, र पर्वत, प्रदेश नम्बर ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके र बर्दिया, प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

शीर्ष नेताले उम्मेदवारी दर्ता गर्नुहुँदै

देशका विभिन्न राजनीतिक दलका शीर्ष नेताले समेत आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराउँदै हुनुहुन्छ । आजको मनोनयनमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवजस्ता प्रभावशाली नेताले आगामी निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्नु हुनेछ ।

मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले आज मनोनयन दर्ता गर्नेछन् । दोस्रो चरणको निर्वाचनमा एक करोड २१ लाख ९८ हजार ८५२ जना मतदतालाई मतदानको अधिकार रहेको छ ।

नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र ऐतिहासिक संविधानसभाबाट बनेको ‘नेपालको संविधान’ को सफल कार्यान्वयन गर्ने क्रममा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले उम्मेदवारी दर्तादेखि प्रचार प्रसारलगायत समग्र निर्वाचन कार्यक्रममा राजनीतिक दल र उम्मेदवारबाट पूर्णरुपमा आचारसंहिताको पालना हुने विश्वास लिएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.