२८ जेष्ठ, काठमाडौं । कालिकोटमा बुधबार भएको टिपर दुर्घटनामा बेपत्ता भनिएकामध्ये २७ जना सम्पर्कमा आएका छन् ।
बाँकी २ जनाको शव भेटिएको छ भने ३ जना बेपत्ता छन् । टिप्परमा जम्मा ३९ जना सवार रहेको नरहरी नाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिएका छन् । मृत भेटिएका दुईजना महिला रास्कोट नगरपालिकाका रहेको खुलेको छ ।
सम्पर्कमा आएकामध्ये ४ जना उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिए । उपचारको क्रममा रहेकामध्ये पनि ३ जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।
बुधबार बिहान नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो।
भारतबाट आएका रास्कोटका नागरिकलाई क्वारेन्टिनमा पु¥याउन कर्णाली करिडोर हुँदै टिपर गएको अध्यक्ष विष्टले जानकारी दिए। अध्यक्ष विष्टका अनुसार गाडी पुरै पानीमा डुबेकाले उद्धारमा समस्या भएको छ। उद्धारका लागि सुरक्षाकर्मी खटिएको एसपी बस्नेतले जानकारी दिए।