१६ असार, विराटनगर ।
पछिल्लो समय नेपालमा दिनहँु तीन चार सयको हाराहारीमा संक्रमित थपिई रहेका छन् । यो निकै चिन्ताको विषय हो । संक्रमित सख्या १३ हजार ५ सय कट्दा ३ हजार १ सय ९४ जना मात्रै निको भएका छन । संक्रमित बढिरहँदा समग्रतामा निको हुनेहरुको सख्या भने त्यही रुपमा बढ्न सकेको छैन । तर क्षेत्रगत रुपमा हेर्दा प्रदेश नम्बर १ मा संक्रमितहरु निको हुनेको सख्या बढिरहेको देखिएको छ । प्रदेश १ मा भेटिएका कुल संक्रमित मध्ये ६९ प्रतिशत निको भएका छन ।
प्रदेश १ मा पछिल्लो समय कोराना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरुको संख्या बढ्दै गएको प्रदेश एक सरकारले बताएको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशस्तरमा कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गरिरहेकाले संक्रमित पहिचान, प्रभावकारी उपचार र अस्पतालबाट डिस्चार्ज हुनेहरुको संख्या उल्लेख्य रहेको बताए ।
मन्त्रालयका अनुसार प्रदेश एकमा बैशाख ५ मा पहिलो संक्रमण देखिएको थियो । असार १६ सम्म आइपुग्दा संक्रमित संख्या ५ सय ७८ पुगेको छ । जसमा महिला ८३ र पुरुष ४ सय ९५ जना रहेका छन् । संक्रमण देखिएका मध्ये ४ सय निको भएर घर फर्किएका छन् । मन्त्रालयको तथ्यांक अनुसार कुल संक्रमित मध्ये निको हुने ६९ प्रतिशत रहेका छन् ।
प्रदेश एकमा बैशाखमा ३५ जना संक्रमित देखिएकामा १६ जना डिस्चार्ज भएका थिए । बैशाखमा २ हजार ४ सय ३९ जनामा पीसीआर र ८ हजार ६ सय ७४ जनामा आरडिटी परिक्षण गरिएको थियो । जेठमा ३ सय ३६ जना संक्रमित थपिए भने १५० जना डिस्चार्ज भए । जेठमा १२ हजार ९ सय २१ ज्नामा पीसीआर र ६ हजार ९ सय २७ जनामा आरडिटी परिक्षण गरिएको थियो । असार १६ सम्म २०७ जनामा संक्रमण देखिएको छ भने २३४ जना डिस्चार्ज भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार प्रदेश एकमा २४ हजार ५७ जनाको पीसीआरबाट परिक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अहिले प्रदेश एकका प्रदेश प्रयोगशाला, विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पतालमा रहेका तीनवटा प्रयोगशालाबाट कोरोना परिक्षण हुँदै आएको छ । धनकुटा र झापामा थप प्रयोगशाला निर्माणको काम भईरहेको मन्त्रालयले बताएको छ । विराटनगरको कोशी कोभिड अस्पतालमा हाल २७ जना, बीपी कोभिड अस्पतालमा ४२ जना, पीयु कोभिड आईसोलेसन अस्पतालमा ८८ जना उपचाररत रहेकोमा त्यहाँबाट २ जना विपी स्वास्थ विज्ञानमा रेफर गरिएको छ । त्यसैगरी कोभिड १९ आइसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरमा १८ जना उपचाररत रहेको प्रदेश एक सामजिक विकास मन्त्रालयले बताएको छ ।
प्रदेश एकमा झापाको १४ स्थानीय तह, मोरङगमा १२, सुनसरीमा ११, उदयपुरमा ७ स्थानीय तहमा संक्रमित फेला परेको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाईंले बताए । प्रदेश १ मा कोरोना कहरको बीचमा भेटिएका संक्रमित मध्ये हरेक दिन जसो नै स्वास्थ्यलाभ लिई घर फर्किने क्रम बढेको छ । घर फिर्ती हुनेहरुको तथ्याङले कोरोनाको भयावहका बीच दुःखको यस समयमा पनि थोरै भएपनि खुशीको संचार गरेको छ ।