१५ साउन, चितवन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकआपसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो ।
ट्रकका चालक भने हाम्फाले ज्यान जोगाउन सफल भएका छन् । प्रहरीका अनुसार उनी सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
उक्त कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ । बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन् । (रासस)