२५ साउन, काठमाडौँ ।
नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले क्रियाशिल सदस्यहरुको संख्या नतोकिदा सम्म महाधिवेशन सम्बन्धी आचारसंहिता नलाग्ने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केही विभागमा नेतृत्व गठन गरेसँगै विभिन्न नेताहरुले आचारसंहिताको कुरा उठाएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्वाचनको प्रक्रिया सुरु भइसकेकाले आचारसंहिता लागू हुने तर सभापति देउवाले विभागको नेतृत्व गठन गरेर आचारसंहिता विपरित काम गरेको आरोप लगाएको छ । सोही विषयमा काठमाडौस्थित नेपाल टाईम्स संवाददातासँग कुराकानी गर्दै सह–महामन्त्री महतले वडाहरुले सदस्यहरुको नामावली बुझापछि सभापतिले सार्वजनिक नगर्दा सम्म आचारसंहिता नलाग्ने बताएका हुन् । उनले नामावली सार्वजनिक भएपछि मात्रै अचारसंहिता लाग्ने प्रष्ट पारे । उनले भने– ‘अहिले त समायोजन नै सकिएको छैन जुन निर्वाचन समितिले जिम्मेवारी दिएको थियो अझै सकिएको छैन । सक्रिय सदस्यता टुंगो लागेकै छैन । वडाले दिएर केन्द्रीय छानविन समितिले छानविन गरेर टुंगो लगाएर पार्टी सभापतिले सही गरेर सार्वजनिक गरेपछि बल्ल मतदाता नामावली सार्वजनिक हुन्छ । राष्ट्रिय निर्वाचनमा मतदाता नामावली नै नआइकन आचार संहिता लाग्छ ? लाग्दैन । त्यसकारण यो आचारसंहिताको कुरा हुँदै होइन र कहिले पनि पार्टीमा त्यो किसिमले आचारसंहिताको कुरा उठेको थिएन् ।’
नेता महतले पार्टी सभापति देउवा कुनैपनि किसिमले निरंकुश नभएको समेत प्रष्ट पारे । विधानमा भएको व्यवस्था अनुरुप नै सभापतिले विभाग गठन गरेको बताए । कसैलाई नसोधि, केन्द्रीय समतिमा पनि छलफल नगरी विभागहरुको गठन गर्ने अधिकार सभापतिसँग भएपनि नेताहरुको समझदारी नभइकन बनाउँदिन भन्दा ढिलो भएको बताए । सबैको समझदारी नभइकन गठन नगर्ने बताउने नेतालाई निरंकुश मान्न नसक्ने उनले बताए । उनले भने– ‘पार्टी सभापति शेरबहादुर देउवा निरंकुश भयो भन्ने कुरा कसैले पार्टीभित्र पनि बाहिर पनि पत्याउँदैनन् । किनभने विधानमा स्पस्ट व्यवस्था छ पार्टी सभापतिले विभाग बनाउने । त्यसमा कसैलाई सोध्नुु पर्दैन, केन्द्रीय समितिमा पनि ल्याउनु पर्दैन । उहाँले सबै नेताहरुको समझदारी सबैले नाउँ नदिइकन म बनाउँदिन सबैलाई चित्त बुझाउँछु भनेर गर्नुभएन भनेदेखि उहाँ निरंकुश हुनुभयो भन्ने कुरामा कुनै आधारमा छैन बरु उहाँलाई के भन्न सक्छौं भनेदेखि पार्टी सभापतिले सबै सहमति विधानले कतिपय कुरा पार्टी सभापतिलाई गर्न दिएको छ कतिपय केन्द्रीय समितिबाट पारित गर्नुपर्छ । कतिपय महासमिति महाधिवेसनमै जानुपर्छ त्यसकारण पार्टी सभापतिले आफुले पाएको अधिकार पनि प्रयोग नगरेर सहमति खोज्ने नाउँमा समयमै निर्णय नगरेर यी विभागहरु समयमै बनेको भए जुन पार्टीको आन्तरिक गतिविधिले गति लिन्थ्यो त्यो गर्नुभएन त्यसमा बरु उहाँलाई दोष दिन सक्छौं तर उहाँ निरंकुश हुनुभयो भन्ने चाहिं दोष दिन सक्दैनौं ।’
उनले विभाग गठनमा कुनै विवाद गर्नुपर्ने अवस्था नभएकाले यसलाई अधिवेसन लागेको भनेर बुझ्नुपर्ने तर्क गरे । सबै पक्षको सहभागिता हुनेगरी नाम दिएमा चुनावको लागि प्रभाव पर्ने केहीपनि कुरा नहुने उनले बताए । पार्टीमा नचिनेको कार्यकर्ता र नचिनेको नेता कोहीपनि नभएकाले कुनै एउटा विषयवस्तुलाई अतिशक्तिपूर्ण रुपमा प्रस्तुत गर्न नुहने बताए । ‘उहाँहरु सबैले नाउँ दिदाँखेरी चुनाव प्रभाव पर्ने कुरा भएन सबैको मान्छेहरु भएपछि के चुनावको लागि प्रभाव पर्ने केहीपनि कुरा छैन् । मलाई लाग्छ यो विषयलाई बहसको विषय बनाउनुपर्ने आवश्यक थिएन । पार्टीमा सबैकुरा पारदर्शी ढंगले नगरी कसैलाईपनि शुख छैन् । नचिनेको कार्यकर्ता र नचिनेको नेता पार्टीभित्र छैन् । त्यसो हुनाले हामीले एउटा विषयवस्तुलाई अतिशक्तिपूर्ण रुपमा प्रस्तुत गरेर पार्टी पङ्तिका नेता कार्यकर्ताले पत्याउने वाला पनि छैनन् ।’
बैठकमा केही विषय नउठाउने तर बाहिर चर्को भाषण गर्दै हिंडने प्रवृति पार्टीका केही नेताहरुमा देखिएको महतले बताए । त्यसैले यो विषयलाई ठूलो विषय बनाउने भन्दा पनि सबै एकीकृत भई राष्ट्रिय विषयहरुमा एकमत भए सरकारको बदमासीलाई पर्दाफास गर्ने र आन्तरिक रुपमा एकजुट भएर नेतृत्व चयन गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताए । उनले भने ‘कतिले केन्द्रीय समितिमा मत नै नराख्ने बाहिरचाँहि विषयवस्तुहरु उठाउने पनि हामी देखिराखेका छौं । जाहाँ नीति निर्माणको ठाउँ छ त्यहाँ उच्चारण गरेको देखिन्न । यी तमाम कुराहरु छन त्यसकारण मलाई लाग्छ यसलाई ठुलो बहसको विषय बनाउनु भन्दा हामी सब एकीकृत भएर राष्ट्रिय विषयहरुमा पनि एकमत भएर सरकारको बदमासीलाई पर्दाफास गर्ने र आन्तरिक रुपमा पनि एकजुट भएर फेरी एउटा प्रक्रियाबाट अधिवेसनबाट नेतृत्व चयन गर्ने हाम्रो प्रक्रिया छ त्यसलाई सफल बनाउने तिर हामी सबै केन्द्रीत हुनुपर्छ ।’ उनले कोभिड १९ संक्रमणको उच्च जोखिमको अवस्थामा पनि निर्वाचनलाई उच्च प्राथमिकतामा राखेर फागुनमा महाधिवेसन गर्ने समय निर्धारण गरिएको बताए ।
ओली सत्ता जोगाउन लाग्दा कोभिडविरुद्ध काम भएन
उनले कांग्रेस भित्रको आन्तरिक समस्याले कोरोना रोकथाम तथा नियन्त्रणमा कुनै असर नपरेको बताए । पार्टी सञ्चालन गरिरहेको रुलिङ पार्टी भित्रको आन्तरिक किचलोको कारण कोरोना रोकथामका लागि प्रयाप्त काम हुन नसकेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले नै सत्ता जोगाउन ध्यान दिएकाले यस तर्फ काम गर्न नसकेको उनले बताए । उनले भने ‘यो विषयमा हाम्रो दृष्टिकोण सार्वजनिक गर्न र सरकारलाई ध्यान आकर्षण गर्नको लागि हामी भित्रको आन्तरिक कुराहरुले कहिंपनि बाधा अप्ठेरो पारेको छैन् । त्यसकारण यो समस्या केहीपनि होइन । जहाँसम्म उहाँहरुको कुरा छ उहाँहरु त मैले अघिनै भनिहाले उहाँहरुले सम्पूर्ण समयलाई उहाँहरुबिचको द्धन्द्धले अवस्य पनि प्रभाव पारेको हुनुपर्छ । किनकी ओलिजीको सम्पूर्ण ध्यान के मा छ भने जसरी पनि मैले सत्ता बचाउनुपर्छ । ओलिजीका विरोधी जो रुलिङ पार्टीका नेताहरु हुनुहुन्छ उहाँहरुको सम्पूर्ण ध्यान चाहिं ओलिजीले मात्रै सँधै सत्ता स्वादन गरिराख्ने अब हामीले पाउनुपर्छ भन्ने देखियो ।’