३ भाद्र, काठमाडौँ ।
संघीय संसद्का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अछाम क्षेत्र नम्बर २ का बोगटी हाल लतिपुरमा कोठा लिएर बसेका थिए । उनको होम आइसोलेसन बस्न मिल्ने संरचना नभएकैले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् । साउन ३० मा पीसीआर गरेका उनको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा गएका हुन् ।
‘मलाई कोरोनाको केही लक्षण छैन,’ उनले भने, ‘सावधानी अपनाउँदा अपनाउँदै को बाट सऱ्यो थाहा छैन ।’ नेकपाका महासचिव विष्णु पौडेलका पीएसओलाई पोजिटिभ देखिएपछि बोगटी र उनका पीएले पनि स्वाब दिएका थिए । पीएको ३१ गते नै कोरोना पोजेटिभ रिपोर्ट आयो भने बोगटीको रिपोर्ट नेगेटिभ आयो ।
‘नेगेटिभ आएपछि अरुसँग पनि घुलमिल भए । रिपोर्ट नआउँदासम्म छुटटै बसेको थिए । परिवारसँग पनि नजिक भए,’ बोगटीले भने,‘ हिजो (मंगलबार) त फेरि पोजेटिभ भएको रिपोर्ट पो आयो ।’ नेगेटिभ आए पनि सोमबार दिउँसो काठमाडौं महानगरपालिकाका कर्मचारीले पोजिटिभ आएको भन्दै फोन गरेपछि उनले ल्याबमा फोन गरेर बुझेका थिए ।
‘ल्याबबाट नेगेटिभ म्यासेज आएको थियो । काठमाडौं महानगरपालिकाका कर्मचारीले भने पोजिटिभ आएको भन्दै फोन गरेपछि के भएको हो भनेर बुझ्दा फेरि पोजेटिभ भएको म्यासेज आयो,’ उनले भने । तीन दिनअघि नेगेटिभ रिपोर्ट आएर खुसी भएका उनी त्यही स्वाबबाट पोजेटिभ रिपोर्ट आएपछि आत्तिएनन् बरु आत्मबल दह्रो बनाएर आइसोलेसनमा गए ।
कोरोनाले कुनै जात, पद नहेर्ने भएकोले सावधानी अपनाउन उनको आग्रह छ । ‘चाहेर वा नचाहेर कसैलाई कोरोना हुने होइन । यसले मान्छे चिन्दैन,’ उनले भने, ‘सावधानीचाहिँ अपनाउनु पर्ने देखियो । सामाजिक दूरी कायम गरौं ।’ आइसोलेसनमा बस्दा पनि आत्तिनेभन्दा पनि आत्मबल दह्रो बनाउनु पर्ने उनको सुझाव छ ।
‘आइसोलेसनमा बस्दा पनि आत्तिएको छैन । आफन्त र पार्टीका साथीहरुसँग फोनमा कुरा गरिरहेको छु,’ उनले भने, ‘निरास हुँदै कोरोनाबाट मुक्त हुन सकिँदैन भन्ने सुनेको छु । त्यसैले मलाई कोरोना लागेको छ भन्ने नै बिर्सेर बसेको छु ।’
यसअघि संघीय संसद्का सांसद प्रदीप यादवलाई कोरोना लागेको थियो । प्रदीप यादव भने कोरोनामुक्त भइसकेका छन् ।