Nepal Times
Nepal Times
3
Shares

पूर्वसभामुख नेम्वाङसँग भिड्दै अठहत्तर वर्षीय वृद्ध

पूर्वसभामुख नेम्वाङसँग भिड्दै अठहत्तर वर्षीय वृद्ध

इलाम, २३ कात्तिक
मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिनुभएको छ ।

चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दै हुनुहुन्छ । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली काँग्र्रेसबाट उम्मेदवार हुनुहुन्छ ।

जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ नागरिक राई नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । “ज्येष्ठताका आधारमा मैले चुनाव जित्छु”, राईले भन्नुभयो ।

राईका प्रमुख प्रतिस्पर्धी नेम्वाङ उहाँभन्दा १४ वर्ष तथा थापा २० वर्ष कान्छा हुनुहुन्छ ।

यस्तै, क्षेत्र नं २ को प्रदेशसभा (क) मा उम्मेदवारी दिनुभएका संघीय समाजवादी फोरम नेपालका बखतबहादुर आङ्देम्बे पनि ७० वर्ष पुग्नुभयो । उहाँ १५ वर्ष कान्छो उम्मेदवार नेकपा (एमाले)का राम राना तथा राप्रपाका ३१ वर्षीय नसिप राईसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

अविवाहित उम्मेदवार

जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा कान्छा क्षेत्र नं २ प्रदेशसभा (ख) मा संघीय समाजवादी फोरमबाट उठ्नुभएका २६ वर्षीय मणिविक्रम लिम्बू हुनुहुन्छ । यस्तै मंगोल नेशनल अर्गनाइजेशनबाट क्षेत्र नं १ को प्रदेशसभा (ख) मा २८ वर्षीय राजन चाम्लिङ उम्मेदवार हुनुहुन्छ । दुवै उम्मेदवार अविवाहित हुनुहुन्छ ।

सोही क्षेत्रमा नयाँशक्तिबाट उठ्नुभएका २९ वर्षीय रामप्रसाद सञ्जेल तथा विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभाको लागि क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएका २७ वर्षीय सचेन घले अविवाहित हुनुहुन्छ । घले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

दुई जनामात्र महिला उम्मेदवार

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्फका ५१ उम्मेदवारमध्ये दुईजना मात्र महिला रहेका छन् । उनीहरू एउटै प्रदेशबाट उम्मेदवार बनेका छन् ।

नेकपा (एमाले)का तर्फबाट खिनु लङ्वा लिम्बू र संघीय समाजवादी फोरम नेपालका तर्फबाट लासाङ तामाङले क्षेत्र नं १ प्रदेशसभा ‘क’मा उम्मेदवारी दिनुभएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.