१५ भदाै, काठमाडाैँ ।
सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नागरिकहरुलाई प्रतिदिन ८ सयका दरले उद्धार गर्ने भएको छ । पीसीआर परीक्षण सहज भएका देशहरुमा नियमित उडान र पीसीआर परीक्षण सहज नभएका मुलुकमा उद्धार उडान गरिने भएको हो ।
यसअघि प्रतिदिन ५ सयजना मात्रै ल्याउन पाउने निर्णय गरेकोमा अब ८ सय जनामा नबढ्ने गरी नियमित र चार्टड उडान गर्ने निर्णय भएको सरकारका प्रवक्ता, अर्थ÷सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए । यात्रु व्यवस्थापन, क्वारेन्टिन व्यवस्थापनको जिम्मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई नै दिने गरी प्रतिदन ८ सय जनालाई ल्याउन सकिने गरी निर्णय भएको डा. खतिवडाले बताए । विगतमा समन्वय अभावमा केही उडानहरु रोक्नुपरेको स्मरण गर्दै खतिवडाले पीसीआर परीक्षण सहज नभएका मुलुकहरु साउदी अरब, कुवेत, कतार लगायतका देशबाट नियमित उडान गर्न नपाउने निर्णय गरेको छ ।
ती मुलुकहरुमा नेपाली कुटनीतिक नियोगबाट सिफारिस भएका, आफ्नै खर्चमा नेपाल आउन चाहाने र सम्बन्धित रोजगारदाता कम्पनीले आफ्नो खर्चमा पठाउन चाहेमा उद्धार उडानबाट ल्याइने उहाँले बताउनुभयो । नेपालमा अध्ययन गर्न र परीक्षा दिन आउनुपर्ने विदेशी विद्यार्थीहरु पनि आउन पाउने भएका छन । ७२ घण्टाभित्र पीसीआर परीक्षण गरेको प्रमाणपत्र, नेपालस्थित सम्बन्धि शैक्षिक संस्थामा भर्ना भएको प्रमाणपत्र र नेपाल सरकारले तोकेका मापदण्डहरु पालना गरी आउन पाउने निर्णय भएको उनले बताए । प्रवक्ता खतिवडाले नेपाली कुटनीतिक नियोगको सिफारिसमा एकाघरको मृत्यु भइ नेपाल आउनुपर्ने, र गम्भिर अवस्थामा नेपाल आउनै पर्ने अपस्था गैर आवासिय नेपालीहरु पनि आउन पाउने निर्णय गरेको बताए ।