योगेन्द्र योगी
१७ भदौ, दोहा ।
कोरोना भाईरस (कोभिड–१९) को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाईभाडा जुटाउन नसकेका ९ नेपालीलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग गरेको छ ।
कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली ब्यावसायी संघ कतारद्वारा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार तेस्रो चरणमा थप ९ जनालाई हवाई टिकट दिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान जानकारी दिए ।
तेस्रो चरणमा अगष्ट ३१ तारिखमा स्वदेश फर्किनेहरुमा खोटाङका दिल बहादुर बुढाथोकी तथा राजेश साहिनी, सोलखुम्बुकी पेमा शेर्पा, नुवाकोटकी मुना लामा, सोलखुम्बुकी रन्जिता भुजेल रहेका छन् । यसैगरी, ईलामकी दान माया राई, बाकेका ईमान सिङ ठकुरी, सल्यानका लोकेन्द्र शाही तथा नवलपरासीका प्रवेश गिरीलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको अध्यक्ष मुसलमानले बताए ।
स्वदेश फिर्तिका लागि सहजीकरण भुमिका निभाउने नेपाली दूतावास र स्वदेश फिर्तीका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष मुसलमानले धन्यवाद ज्ञापन गरेका छन् । यसअघि पहिलो र दोस्रो चरणमा समस्यामा परेका १४ नेपालीलाई टिकट उपलब्ध गराई स्वदेश पठाईएको थियो ।