विधि–विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग

विधि–विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग

काठमाडौँ, २१ वैशाख ः नेपाल विद्यार्थी संघले विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग गरेको छ ।

नेविसंघको दुई तिहाइ सदस्यको बिहीबार वाल्मीकि क्याम्पसमा बसेको बैठकले अध्यक्ष नैनसिंह महरले विधि–विधानविपरीत मनोमानी ढंगले केन्द्रीय समितिका पदाधिकारी, सदस्य, विश्वविद्यालय, जिल्ला, क्याम्पस, सिटिइभिटी, विदेशस्थित सम्पर्क समितिमा भएको मनोनयन खारेज गर्न माग गरेको हो ।

नेविसंघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बसेको बैठकले काँग्रेसको नर्सरीका रुपमा रहेको नेविसंघलाई बलियो बनाउनुको साटो विधान विपरीत जथाभावी ढंगले नियुक्त गर्दै हिँडेको भन्दै विधानविपरीत गरिएको मनोनयन खारेजको माग गरेको हो ।

सो बैठकको निर्णय आज सार्वजनिक गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघलाई साँच्चै नै विद्यार्थीको संगठन बनाउन उक्त बैठक आयोजना गरिएको जानकारी दिए ।

अध्यक्षले निर्वाचन भएको तीन महिनाभित्र विवादित ११ जिल्लाको विवाद मिलाउनुपर्नेमा २० महिनासम्म पनि मिलाउन नसकेको र १२औँ महाधिवेशन गर्न आलटाल गरेपछि छलफलमा जुटेको केन्द्रीय सदस्य सुशील भट्टले बताए।

बैठकमा उपाध्यक्षहरु रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नवीन राई, खड्ग डाँगी, महामन्त्री, कोषाध्यक्ष शिव रिमाल, सहमहामन्त्रीलगायत ८४ जनाको सहभागिता थियो । बैठकले नेविसंघका संस्थापक अध्यक्ष सीताराम निरौलाको निधनप्रति शोक प्रस्तावसमेत पारित गरेको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले मनोनीत गर्ने अधिकार अध्यक्षसँग भएको र सोही अधिकारलाई प्रयोग गरेर विधानसम्मत मनोनयन गरेको बताए । “नेविसंघलाई ध्वस्त बनाउन र १२औँ महाधिवेशन भाँड्नका लागि निर्वाचन विरोधी समूह एक भएका छन््”, उनले भने । साउन २३ देखि २७ सम्म १२ औँ महाधिवेशन सम्पन्न गर्न नेविसंघ लागिरहेको उनको भनाइ छ ।

अध्यक्ष महरले नेविसंघको विधान विपरीत बैठक बसेको भन्दै उक्त समूहलाई कारवाहीका लागि पार्टीलाई चिठी पठाइसकेको र चाँडो कारवाही हुने स्पष्ट पारे ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.