Nepal Times
Nepal Times
3
Shares

किबीखेतीबाट कृषक लाभान्वित

किबीखेतीबाट कृषक लाभान्वित

हेटौँडा, २६ कात्तिक
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका– ६ बज्रबाराहीका कृषकले किबीखेतीबाट बर्षेनी लाखौँ रकम आम्दानी गरिरहेका छन् ।

‘एक गाउँ एक उत्पादन’ अवधारणाअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जिल्ला कृषि विकास कार्यालयले करिब रु ३५ लाख लगानी गरी किबीखेतीसम्बन्धी तालीम, प्रविधि र बिरुवा सहयोग गरेपछि यहाँका किसान किबीखेतीतर्फ आकर्षित भएका हुन् ।

बज्रबाराहीका ३० जना कृषकको समूहले किबीखेतीमा संलग्नछ । किबीखेतीका लागि उपयुक्त हावापानी रहेको बज्रबाराहीमा उत्पादन हुने किबी फल बिक्रीबाट एकजना किसानले रु पाँच लाखदेखि रु १० लाखसम्म वार्षिक आम्दानी गर्दछन् ।

किबी प्रतिकिलो रु २५० देखि रु ५०० सम्ममा बिक्री हुने कृषक रेखा सुवेदी बताउनुहुन्छ । उहाँले एउटा याममा करिब १२ टनसम्म किबी बिक्री गर्ने गरेको बताउनुभयो । अहिले बज्रबाराहीमा किबीखेती गर्ने कृषकको संख्या ५० पुगेको छ ।

यहाँ करिब १६ हेक्टरभन्दा बढी जग्गामा किबीखेती भइरहेको छ । स्थानीय कृषक मनोरथ बलामी एउटा बोटबाट २०० किलोसम्म किबी फल उत्पादन हुने गरेको बताउनुहुन्छ । वार्षिक रु छ लाखसम्म आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । यसको मुख्य बजार हेटौँडा र काठमाडौँ हो ।

कृषकलाई कृषि कार्यालयले आवश्यक परामर्श र प्राविधिक सहयोग समेत गर्दैआएको छ । अहिले बज्रबाराही गाउँ किबीखेतीको पकेट क्षेत्रका रुपमा चिनिन थालेको छ । मकवानपुर उद्योग वाणिज्य संघ हेटौँडाले किबी फलको प्रवद्र्धनका लागि शुरुदेखि नै सहयोग गर्दै आइरहेको संघका अध्यक्ष राजकुमार न्यौपानेले बताउनुभयो ।

“बजारीकरण र प्रवद्र्धन गर्न कुनै समस्या छैन,” उहाँले भन्नुभयो ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.