Nepal Times
Nepal Times
3
Shares

समाजसेवी अनुराधा कोइराला काँग्रेस प्रवेश

समाजसेवी अनुराधा कोइराला काँग्रेस प्रवेश

काठमाडौँ, २६ कात्तिक
‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । आज प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गर्नुभएको हो ।

चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि काँग्रेसबाट मात्रै सम्भव भएको बताउँदै पार्टी प्रवेश गर्नुभएको हो ।

“सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजानसक्ने काँग्रेस मात्रै हो”– कोइरालाले पार्टी प्रवेश पछि भन्नुभयो, “लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।”

कोइरालाले लोकतन्त्रबाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताउनुभयो । उहाँले लोकतन्त्रलाई थप मजबुत गराउन सबैलाई काँग्रेसमा मतदान गर्न पनि आह्वान गर्नुभएको छ ।

“म सबैमा लोकतन्त्रलाई स्वीकार गरी सबै अटाउनसक्ने नीति बोकेको काँग्रेसलाई मतदान गर्न अपिल गर्दछु,” उहाँले भन्नुभयो ।

सामाजिक क्षेत्रमा लामो समय योगदान गर्नुभएको कोइराला अहिले काँग्रेसका पक्षमा मतदान गरेर महिला, दलित, जनजाती, मधेसीलगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताउनुहुन्छ ।

“अब जनताले बुझ्नुपर्ने बेला आएको छ, सबैका अधिकार काँग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छ”– उहाँले भन्नुभयो, “त्यसैले संविधान कार्यान्वयनको चुनौतिपूर्ण अहिलेका अवस्थामा काँग्रेसका पक्षमा मतदान गरेर छ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ ।”
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.