Nepal Times
Nepal Times
3
Shares

सगरमाथा आरोही महिला पत्रकारलाई राष्ट्रपतिको शुभकामना

सगरमाथा आरोही महिला पत्रकारलाई राष्ट्रपतिको शुभकामना

काठमाडौँ, २६ कात्तिक  ः राष्ट्रपति विद्यादेवी भण्डारीले सगरमाथा आरोहण गर्ने तयारीमा रहेको ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ समूहलाई सफलताको शुभकामना दिनुभएको छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा आज पुगेको आरोही पत्रकारको समूहलाई राष्ट्रपति भण्डारीले सामाजिक जिम्मेबारीबोधका साथ ६४ वर्षको सगरमाथा आरोहण इतिहासमा नयाँ आयाम थपिने उल्लेख गर्नुभयो ।

उहाँले नेपाली नागरिक, महिला तथा पत्रकारको हैसियतले सगरमाथा आरोहणप्रतिको उत्साहजनक सोच सराहनीय भएको उल्लेख गर्दै यसमा आफ्नोतर्फबाट हरतरहको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सगरमाथा आरोहण समूहमा रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की (न्यूज २४ टेलिभिजन), कल्पना महर्जन (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) गरी पाँचजना महिला पत्रकार छन् ।

आगामी चैतमा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारीमा रहेका उनीहरु आरोहणसम्बन्धी तालिम लिन आगामी कात्तिक २९ गते दोलखास्थित यालुङरी र रामदुङ (६ हजार मिटर)का गरी दुई हिमाल आरोहण गर्न दोलखाको रोलवालिङ जानेछन् ।

आरोही समूहलाई सफल पार्न सम्पूर्ण नेपालीको हौसला र आशीर्वाद तथा विभिन्न संघ संस्थाको सहयोगको आवश्यकता रहेको आरोहण समूहकी संयोजक कल्पना महर्जनले बताउनुभयो ।

रासस

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.