विराटनगर, साउन १८
आफुले जन्म दिएको बच्चालाई गाई बाख्रालाई जस्तै डोरीले बाँधेर राख्न त कुन आमालाई मन होला र ? तर, विराटनगर ५ की एउटी आमा आफैले जन्म दिएको छोरालाई डोरीले बाँधेर घरमा राख्न बाध्य छिन् ।
बौद्धिक अपाङगता भएका ९ बर्षीय वालक अर्जुन कालाखेति विगत सात बर्षदेखि डोरीले बाधिएर चिसो भुईमा बस्न बाध्य छन् । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नुपर्ने कमजोर आर्थिक अवस्थाका उनका अभिभावकले उनलाई विगत सात बर्षदेखि डोरीले बाधेर राखेका छन् ।
फोहोर खाने तथा वाहिर निस्कीएर भुईमा लड्ने हुनाले बाधेर राख्ने गरेको उनकी आमा कमला कालाखेति बताउँछिन् । खाट मुनी राखिएको काठमा उनलाई बाधेर राख्ने गरीएको छ ।
दिनभर चिसो भुइमै लडीबुडी गर्दै बस्ने अर्जुनको दिसा र पिसाव पनि त्यही हुन्छ । ढोकामा ताला लगाएर काममा गएर फर्किपछि अर्जुन कहिले दिसा खाइरहेको त कहिले पानीमा डुबिरहेको हुनाले आफुले बाधेर घरमा राख्ने गरेको आमा कमलाको भनाई छ ।
राती भने त्यही काठमा ओछ्यान लगाएर सुताउने उनी बनाउँछिन । काम नगरे घरमा खाने चामल समेत जुटाउन मुस्किल पर्ने अवस्था उनिहरुको छ ।
अर्जुनका ७ बर्षीय भाई पनि छन । दिनभर काम गरेर जसोतसो ४ जनाको परिवारको हातमुख जाड्दै आएका कमलाको परिवारमा बज्रपात त तब भयो जब उनका श्रीमान राजेन्द्रको एक महिना अघि क्यान्सरबाट मृत्यु भयो ।
श्रीमानको उपचारमा जुट्नु पर्दा आफुले गर्दै आएको काम पनि छुटेको र श्रीमानको पनि मृत्यु भएपछि कमला र उनका दुइ छोराको अहिले बिचल्ली भएको छ । घरमा न त खाने चामल छ न त पकाउने ग्यास नै । छिमेकीसंग मागेर उनले दुइ छोराको पेट पालिरहेकी छिन ।
अर्काको घरमा भाडामा बस्दै आएका उनिहरुलाई अर्जुनको अपाङगता परिचय पत्र बनाएर आएको भत्ताले केही राहत हुने गरेको छ । छोराको अवस्थाले आफु काममा जान पनि नपाउने, काममा गए छोराको विजोक हुने भएपछि कमलाले कुनै संघसस्थाले छोरा लगेर संरक्षण गरिदिए हुने अपेक्षा गरेकी छन् ।
आर्थिक अबस्था कमजोर भएर कान्छो छोरा पनि विद्यालय पठाउन नसकेको उनले दुखेसो पोखिन् । सानैमा आमा बुबा बितेपछि अर्काको घरमा घरेलु कामदारको रुपमा काम गरिरहेकी कमलाको सानै उमेरमा विवाह भएको थियो । श्रीमानको पनि मृत्यु भइसकेको र अन्य आफन्त पनि कोहि नभएपछि अहिले कमला बेसाहारा बनेकी छिन् ।