२१ फागुन , काठमाण्डौ ।
भारतमा जारी ट्वान्टी २० विश्वकपमा फाइनल प्रवेशका लागि घरेलु टोली र इङ्ल्याण्डबीच आज सेमिफाइनल खेल हुदैछ । मुम्बईको वानखडेमा हुने दोस्रो सेमिफाइनल खेलमा साबिक विजेता भारतले इङ्ल्याण्डको सामना गर्न लागेको हो ।
भारत र इङ्ल्याण्डबीच बिहिबार बेलुका ७ः१५ मा खेल हुदैछ । यि दुईबीच सेमिफाइनलमा भेट हुन लागेको यो लगातार तेस्रो पटक हो । सन् २०२४ मा भएको गएको संस्करणको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरि भारत च्याम्पियन भएको थियो ।
विश्वकपको समूह ए मा रहेको भारत अपराजित रहँदै सुपर ८ मा प्रवेश गरेको थियो । सुपर ८ को समूह एकको विजेता बन्दै भारतले सेमिफाइनलमा स्थान बनाएको हो । विश्वकपको आयोजक राष्ट्र रहेर फाइनलमा स्थान बनाउँने दोस्रा राष्ट्र बन्न चाहन्छ ।
सन् २०१२ मा श्रीलंकाले यो उपलब्धी हासिल गरिसकेको छ । सन् २०१० र सन् २०२२ को च्याम्पियन इङ्ल्याण्ड सन् २०१६ मा भारतमै भएको विश्वकपको फाइनलसम्म पुगेको थियो । भारत र इङ्ल्याण्डबीच सेमिफाइनलमा हुन लागेको यो लगातार तेस्रो भेट हो ।
अघिल्ला २ संस्करणको विश्वकप सेमिफाइनल दुई देश खेलेकामा समान १ पटक नै जित हात पारेका थिए । ट्वान्टी २० विश्वकपमा यि दुई देशबीच ५ भेट भएको छ । भारत ३ खेलमा विजयी हुँदा २ खेलमा इङ्ल्याण्ड विजयी भएको छ । अब आजको खेलको विजेताले फाइनलमा न्युजिल्याण्डसंग खेल्नेछ ।
न्युजिल्याण्डले पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । भारतको सेमिफाइनल यात्रामा केही खेलाडीहरुको उत्कृष्ट व्यक्तिगत प्रदर्शन निर्णायक बनेको छ । सूर्यकुमार यादव, सन्जु स्यामसन र हार्दिक पाण्ड्याले महत्वपूर्ण समयमा टोलीलाई साथ दिएका छन् भने बलिंगतर्फ जसप्रीत बुमराहले नेतृत्व गरेका छन् ।
उता इंग्ल्याण्ड कप्तान ह्यारी ब्रुकको नेतृत्वमा टोलीले पनि स्थिर प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । प्रतियोगिताभर दुवै टोलीले अझै आफ्नो पूर्ण क्षमताको खेल देखाउन नसकेको अवस्थामा सेमिफाइनलमा दबाब सम्हाल्ले टोलीले खल जित्ने सम्भावना बढी देखिन्छ ।
मुम्बईको वानखेडे स्टेडियमको पिच सामान्तया ब्याटिंगमैत्री मानिन्छ र यस खेलमा पनि उच्च स्कोरको सम्भावना छ । खेल पिच नम्बर ७ मा हुनेछ, जुन मैदानको बीच भागमा रहेको छ र दुवै साइडको बाउन्ड्री दुरी लगभग समान छ ।
पिचमा हल्का घाँस राखिएकाले सुरुवाती ओभरमा तीव्र तिका बलरहरुको सीम मुभमेन्ट र अतिरिक्त बाउन्स पाउन सक्छन्, विशेषगरी पावरप्लेमा । खेलअघि बढ्दै जाँदा पिच स्थिर हुँदै जाने र मध्य ओभरमा स्पिनरहरुले केही मद्यत पाउने अपेक्षा गरिएको छ ।
तर वानखेडे परम्परागत ब्याटिंगमैत्री स्वभाव र साँझतिर देखिन सक्ने ओसका कारण दुवै टोलीका बलिया ब्याटिंग लाइनअपले २०० भन्दा माथिको स्कोर पनि बनाउन सक्ने सम्भावना छ ।