९ वैशाख , काठमाण्डौ।
लामो समयदेखिको द्वन्द्वका बाबजुद इरानसँग अझै ठूलो मात्रामा घातक हतियारहरू सुरक्षित रहेका बेलायत र अमेरिकाको नयाँ गुप्तचर विश्लेषणले खुलासा गरेको छ । प्रतिवेदनका अनुसार, इरानको वर्तमान सैन्य स्थिति द्वन्द्वपूर्वको तुलनामा करिब ७० प्रतिशत मिसाइलहरू अझै सुरक्षित छन् ।
करिब ६० प्रतिशत प्रक्षेपण प्रणालीहरू इरानी सेनाको नियन्त्रणमा छन् । साथै, कम्तीमा ४० प्रतिशत ड्रोनको भण्डार अझै बाँकी छ । इरानको खताम अल–अम्बिया सेन्ट्रल हेडक्वार्टरका कमान्डर अलि अब्दुल्लाहीले सैन्य रूपमा इरानको पकड बलियो रहेको दाबी गरेका छन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई झुटा भाष्य सिर्जना नगर्न चेतावनी दिँदै युद्धको मैदानमा नयाँ रणनीतिहरू अपनाउने संकेत दिएका छन् । विज्ञहरूका अनुसार, यदि वार्ता सफल नभए र यमनका हुथी विद्रोहीहरू युद्धमा पूर्ण रूपमा संलग्न भएमा, उनीहरूले बाब अल–मन्डेब जलडमरूमध्य बन्द गरिदिने खतरा बढेको छ ।
इरानी अधिकारीहरूले यसलाई ट्रम्पको नीतिको विरुद्धमा नयाँ ‘कार्ड’ खेल्ने अवसरका रूपमा लिएका छन् । होर्मुज जलमार्गसँगै यो मार्ग पनि बन्द भएमा विश्वव्यापी तेल व्यापार र आपूर्ति शृंखलामा गम्भीर धक्का लाग्नेछ । यता इरानसँगको युद्धको नेतृत्व गरिरहेको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै ‘आफ्ना सेना तयार रहेको’ बताएको छ ।
युद्धविमान, जहाज र अमेरिकी सेनाहरूसहितको भिडिओ क्लिपसहित, सेन्टकम कमाण्डर एडमिरल ब्राड कूपर अमेरिकी रक्षा सचिव पिट हेगसेथसँगको पत्रकार सम्मेलनमा प्रस्तुत भएको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । ‘हामी हतियारहरू तयार गर्दैछौँ । हामी पुनः उपकरण बनाउँदैछौँ । र हामी हाम्रा रणनीति, प्रविधि र प्रक्रियाहरू समायोजन गर्दैछौँ,’ कूपरले भने ।
यता राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको दुई हप्ते युद्धविरामको समय सकिनै लाग्दा यसको समय थप गर्ने घोषणा गरेका छन् । युद्धविरामको समय सकिन केही घण्टा मात्रै बाँकी रहँदा गरिएको यो निर्णयले शान्ति वार्तालाई निरन्तरता दिने उद्देश्य राखेको छ ।
पाकिस्तानको आग्रहमा युद्धविराम विस्तार भएको रोयटर्सले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री शहवाज सरिफले अमेरिकी कदमको स्वागत गर्दै दुवै पक्ष स्थायी शान्ति सम्झौतामा पुग्ने अपेक्षा व्यक्त गरेका छन् । तर इरानले यो युद्धविरामको समय बढाएको विषयमा औपचारिक सहमति दिएको स्पष्ट छैन ।
इरानी पक्षले अमेरिकाको निर्णयलाई एकतर्फी भन्दै अस्वीकार गर्ने गर्न सक्ने आशङ्का पनि गरिएको छ । इरानले यसलाई आकस्मिक आक्रमणको तयारीका लागि समय लिएको आशङ्का गरेको छ । युद्धविरामको समय थप भए पनि अमेरिका आफ्नो नौसैनिक नाकाबन्दी कायम राख्ने पक्षमा छ ।
अमेरिकाले पनि इरानका बन्दरगाहहरूमा जारी नाकाबन्दीलाई निरन्तरता दिने बताएको छ, जसलाई इरानले भने युद्धकै संज्ञा दिएको छ । झण्डै ५० दिनदेखि चलिरहेको युद्ध अन्त्यका लागि पाकिस्तानमा दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेको छ । तर वार्ताको मिति र सहभागिताबारे अझै अन्योल कायमै छ ।
यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द गरिएको छ । भेन्स यसै महिनामा दोस्रो पटक पाकिस्तान जाने तयारीमा थिए । उनी बुधबार त्यहाँ पुगेर इरानी अधिकारीहरूसँग शान्ति वार्तालाई अन्तिम रूप दिने प्रयास गर्ने योजनामा रहेको खबर आएको थियो । तर ह्वाइट हाउसले भान्सको आसन्न भ्रमण रद्द भएको पुष्टि गरेको छ ।
अमेरिकी प्रशासनका एक अधिकारीका अनुसार, अब प्रत्यक्ष भेटघाटसम्बन्धी कुनै पनि नयाँ जानकारी भए ह्वाइट हाउसले पछि सार्वजनिक गर्नेछ । इरानले पाकिस्तानमा कुनै टोली नपठाएपछि अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण पनि रोकिएको हो ।
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानीच जारी युद्धविराम अनिश्चितकालसम्म लम्ब्याउन सहमति जनाएको घोषणा गरेकै समयमा यो खबर आएको हो । मध्यपूर्व युद्धले हजारौँ मानिसको ज्यान गएको छ भने विश्व अर्थतन्त्रमा समेत गम्भीर प्रभाव परेको छ । गएको चैत २४ गते इरान र अमेरिकाबीच दुई हप्ताका लागि अस्थायी युद्धविराम गर्ने सहमति भएको थियो ।


