८ वैशाख ,काठमाण्डौ।
गृहमन्त्री सुधन गुरुङ आफैले सार्वजनिक गरेको सम्पत्ति विवरण, आफ्ना लगानीहरु र यससंग जोडिएका व्यक्ति तथा संस्थाहरुका कारण विवादको घेरामा परेकै बेला उनको राजीनामासंगै उनलाई पक्राउ गर्न पनि माग गरिएको छ । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न र निष्पक्ष अनुसन्धान अघि बढाउन माग गर्दै प्रहरी प्रधान कार्यालयमा निवेदन दिएको छ ।
नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा बुझाइएको निवेदनमा गृहमन्त्री गुरुङमाथि गम्भीर आरोप सार्वजनिक भएको उल्लेख गर्दै पदमा बहाल रहँदै आफ्नैविरुद्ध छानबिन अघि बढाउनु ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ भएको तर्क गरिएको छ । संगठनले यस्तो अवस्था नेचुरल जस्टिसको सिद्धान्तविपरीत भएको पनि जनाएको छ ।
संगठनका प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित निवेदनमा सरकारलाई गृहमन्त्रीलाई पदबाट हटाउन सिफारिस गर्न, उनलाई पक्राउ गरी हिरासतमा राख्न, आरोपहरूको निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न तथा प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ । निवेदनको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार र राष्ट्रिय मानवअधिकार आयोग, ललितपुरलाई समेत पठाइएको छ ।
उता चौतर्फी आलोचना र विवाद बढेपछि प्रधानमन्त्री बालेन शाहले पनि गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण लिएका छन् । सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको, सम्पत्ति शुद्धीकरणको अभियोगमा हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ जोडिएको भन्दै प्रश्न गृहमन्त्री गुरूङमाथि प्रश्न उठेको छ ।
यसमा गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको भन्दै स्पष्टीकरण दिएका थिए । प्रधानमन्त्री बालेन शाहको पनि यसबारे ध्यानाकर्षण भएको उनको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री गुरूङको सचिवालयले पनि प्रधानमन्त्रीलाई यसबारे लिखित स्पष्टीकरण बुझाएको बताएको छ ।
‘प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको थियो। गृहमन्त्री सुधन गुरूङले सार्वजनिक रूपमा नै स्पष्टीकरण दिइसक्नुभएको छ। विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनीबाट सेयर खरिद गरेको विषयमा प्रश्न उठेकाले गृहमन्त्रीले प्रधानमन्त्रीलाई लिखित स्पष्टीकरण दिनुभएको छ,’ गृहमन्त्रीको सचिवालयले भन्यो।
सचिवालयका अनुसार गृहमन्त्री गुरूङले सोमबार साँझ ६ बजे लिखित स्पष्टीकरण बुझाएका हुन् । आफ्नै मन्त्रिमण्डलका प्रभावशाली सदस्यमाथि गम्भीर प्रश्न उठेपछि प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री गुरूङसँग लिखित स्पष्टीकरण माग गरेका हुन् ।
प्रधानमन्त्रीको सक्रियता र गृहमन्त्रीको जबाफले यो प्रकरण अब केवल राजनीतिक चर्चामा मात्र सीमित नभई सुधनको बहिर्गमनको सम्भावित मोडतर्फ मोडिएको संकेत गरेको छ । गृहमन्त्रीले आफ्नो स्पष्टीकरणमा आफूले ऋण लिएर सेयर खरिद गरेको दाबी गर्दै कुनै पनि विवरण नलुकाएको जिकिर गरेका छन् ।
तर, गृहमन्त्रीले बुझाएको स्पष्टीकरणले नयाँ कानुनी र नैतिक प्रश्नहरू उब्जाएको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ४ करोड ३१ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व देखाएका छन् । जसमा स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्स जस्ता कम्पनीको संस्थापक सेयर समेत समावेश छ ।
स्पष्टीकरणमा उनले ती सेयरहरू २०८० भदौमा तमसुक गरेर ऋणमार्फत किनेको र उक्त रकम बैंकिङ च्यानलबाटै आएको उल्लेख गरेका छन् । विवादको मुख्य चुरो भने उनले बुझाएको आधिकारिक सम्पत्ति विवरण र अहिलेको स्पष्टीकरणबीचको अन्तरमा देखिएको छ ।
मन्त्री नियुक्त हुँदा बुझाइएको विवरणमा उनले सेयर खरिदको स्रोत ‘व्यवसाय, पैतृक सम्पत्ति र लगानी’ उल्लेख गरेका थिए, जहाँ ‘ऋण’ शब्द कतै उच्चारण गरिएको थिएन । त्यति मात्र होइन, सम्पत्ति विवरणको ‘ऋण लिए÷दिए’ को महल समेत उनले खाली छोडेका थिए ।
यसले उनीमाथि सम्पत्ति विवरण भर्दा जानाजानी झूटो विवरण पेश गरेको गम्भीर आरोप लागेको छ । अर्कोतर्फ, हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँगको सम्बन्धलाई लिएर गृहमन्त्री मौन देखिनुले शंकालाई थप बल पु¥याएको छ। भट्टको पहलमा स्थापना भएका कम्पनीहरूमा मन्त्रीको संस्थापक सेयर रहनुले सामान्य लगानी मात्र नभई गहिरो व्यावसायिक साझेदारीको संकेत गर्छ ।
सेयर बजारका पुराना खेलाडी नभए पनि मन्त्री हुनुभन्दा केही दिन अघि मात्र ठूलो मात्रामा एउटै कम्पनीको सेयर दोस्रो बजारबाट खरिद गरिनुलाई समेत अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि, पदीय मर्यादा विपरीत कार्य गरेको भन्दै आफ्नै पार्टीका श्रममन्त्री दीपककुमार साहलाई बर्खास्त गरिसकेका प्रधानमन्त्री बालेन शाहका लागि यो प्रकरण निकै चुनौतीपूर्ण बनेको छ ।
सुशासनको चर्को नारा लिएको राष्ट्रिय स्वतन्त्र पार्टी भित्र यो विषयले प्रवेश पाए पनि नेतृत्व तहले अझै स्पष्ट धारणा सार्वजनिक गरेको छैन । पार्टी प्रवक्ता मनिष झाले थप छलफल आवश्यक रहेको भन्दै पन्छिन खोजेका छन् । सभापतिसहित अन्य नेताहरुले समेत यसको जवाफ दिन चाहिरहेका छैनन् ।
तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित केही जेनजी समूह र अगुवाहरुले समेत गृहमन्त्रीको राजीनामासहित अनुशन्धानको माग गरेका छन् । यता आम नागरिक र सामाजिक सञ्जालमा गृहमन्त्रीको नैतिकतामाथि ठूलो प्रश्न उठेको छ। कानुनी विज्ञहरूका अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरणमा झूटो सूचना दिनु भ्रष्टाचार निवारण ऐन आकर्षित हुने विषय हो ।
यदि प्रधानमन्त्रीले गृहमन्त्रीको जबाफलाई अपूर्ण वा झूटो ठहर गरेमा, उनले सुशासनको छवि जोगाउन सुधन गुरूङलाई पदमुक्त गर्ने प्रबल सम्भावना देखिन्छ । यता गृहमन्त्री सुधन गुरुङले भने वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेकाहरू अहिले डराएको टिप्पणी गरेका छन् ।
सञ्जालबाट आफूमाथि उठेका प्रश्नको लामो जवाफ दिएका गुरुङले सोमबार राति पुनः अर्को स्टाटस लेखेका छन् । जहाँ उनले आफूविरुद्धका हल्लालाई छटपटिको संज्ञा दिएका छन् । ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्,’ गृहमन्त्री गुरुङले लेखेका छन्, ‘मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो । कारबाही रोकिँदैन, डगमगाइँदैन ।’
दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको आफूले नदेखेको उनको भनाइ छ । उनले आफूविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाइएको भन्दै भ्रष्टाचारविरुद्धको कारबाही कुनै हालतमा नरोकिने लेखेका हुन् ।


