१८ वैशाख, काठमाण्डौ।
२५७०औँ बुद्ध जयन्ती आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण–तीनवटै घटना यही दिन परेकाले यसलाई ‘त्रिसंयोग दिवस’ का रूपमा विशेष महत्त्वका साथ मनाइन्छ। भगवान् बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा समेत पुजिन्छ।
यही कारणले वैशाख शुक्ल पूर्णिमाका दिन हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले समान श्रद्धाका साथ बुद्धको पूजा–आराधना गर्छन्। यस अवसरमा सरकारले प्रत्येक वर्ष सार्वजनिक बिदा दिने प्रचलन छ। बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रो यात्रा ज्ञानको उज्यालोको खोज र समस्या निवारणको मार्गमा हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालबाट बुद्ध जयन्तीको शुभकामना दिँदै उनले बुद्धले देखाएको बाटो दुःख निवारणको भएको बताए । शाहले भनेका छन्, ‘उज्यालोको अभाव नै अँध्यारो हो, जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ । हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ ।’
बुद्धवाणि ‘दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ’ स्मरण गर्दै उनले विश्व शान्तिको कामना गरेका छन् । ‘बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ’, बालेनले लेखेका छन्, ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो “ज्ञ” ज्ञान हो ।’
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना। अप्प दीपो भवः बालेनले लेखेका छन् । यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पनि पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पु¥याउने बताएका छन् ।
बुद्ध जयन्तीको शुभकामना दिँदै पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्न प्रेरणा मिलोस् भनी उनको कामना छ । आजै परेको अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना सन्देशमा पौडेलले विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।
नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक एवम् श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको उनले स्मरण गरेका छन् ।
त्यस्तै,उभौलीका अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता सांस्कृतिक पर्वहरूले देशको सांस्कृतिक विविधताको सम्मान र संरक्षणलाई कायम राख्ने उनले बताएका छन् । साथै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।
उभौली पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने कामना पौडेलको छ । २५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण–तीनवटै घटना यही दिन परेकाले यसलाई ‘त्रिसंयोग दिवस’ का रूपमा विशेष महत्त्वका साथ मनाइन्छ। यस वर्ष बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
लुम्बिनीस्थित मायादेवी मन्दिरमा बिहानैदेखि पूजा–अर्चना तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिएको छ । देशभरका बौद्ध धर्मावलम्बीहरूले चैत्य, गुम्बा र विहारहरूमा भेला भई लामा तथा धर्मगुरुको उपस्थितिमा परम्परागत विधिअनुसार पूजा सम्पन्न गरिरहेका छन्।
लुम्बिनी, स्वयम्भू र बौद्ध क्षेत्रमा विशेष कार्यक्रमहरू आयोजना भइरहेका छन्। नेपालको लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतमको जन्म भएको मानिन्छ। राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्र सिद्धार्थ गौतम २९ वर्षको उमेरमा राजदरबार त्यागेर ज्ञानको खोजीमा निस्किएका थिए।
उनले जन्म, जरा, व्याधि र मृत्युका यथार्थलाई व्याख्या गर्दै मानव जीवनका लागि मार्गदर्शन दिएका छन्। बुद्धले प्रतिपादन गरेको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीललाई मानव जीवनका लागि अत्यन्त उपयोगी मानिन्छ। अष्टाङ्गिक मार्गअन्तर्गत सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि पर्दछन्।
पञ्चशीलमा चोरी नगर्नु, असत्य नबोल्नु, यौन दुराचार नगर्नु, मादक पदार्थ सेवन नगर्नु र हिंसा नगर्नु समावेश छन्। मानव समुदायका लागि यस्ता महत्त्वपूर्ण उपदेश दिएका कारण बुद्धलाई एसियाका ताराका रूपमा सम्मान गरिन्छ।


