७ जेठ , काठमाण्डौ ।
प्रतिनिधिसभाको बैठक होस् वा प्रतिनिधिसभा अन्र्तगतका संसदीय समिति देशका विभिन्न भागमा बाँदरले दुःख दिएको भन्दै त्यसको समस्या समाधानका लागि जनप्रतिनिधिहरुले सरकारको ध्यानाकर्षण गराउदै आएका छन् । कतिपय सांसदहरुले बाँदरले दिएको दुःखको समाधान भनेको बाँदर मार्नु नै रहेको बताएका छन् भने कतिपयले त्यसमा आपत्ति जनाएपछि बैठकहरुमा चर्काचर्की नै भएका भएका घटनाहरु पनि बाहिरिसकेका छन् ।
यस्तोमा केही सांसद्हरुले बाँदरले पारेको समस्या समाधानका उपायहरु सुझाएका छन् भने कसैले बाँदरको पुर्याएको समस्या समाधान नगरे संसद् नै चल्न नदिने भन्दै सरकारलाई अल्टिमेट नै दिएका छन् । बाँदर आतंक बढेको भन्दै आजको प्रतिनिधिसभाको बैठकमा पनि विभिन्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराए ।
यही विषयमा एमाले सांसद्ले त बाँदर कसरी नियन्त्रण गर्ने ? भन्ने जवाफ ७ दिनभित्र नदिए सदन नै चल्न नदिने चेतावनी दिए । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकार बाँदर नियन्त्रणमा गम्भीर नभएको टिप्पणी गरे । उनले बाँदरले जनताको बसाईं उठाएको भन्दै समास्या सामाधानमा लाग्नुपर्ने बताए ।
उनले आफ्नो जिल्लाबाट बार्दलीमा सुकाएको लुगा बाँदरले लगेको, भात खान नदिएको गुनासो आएको भन्दै सोधे– के जवाफ दिऊँ ? कानुनी वा अन्य कुराबाट कसरी बाँदर नियन्त्रण गर्ने भन्ने जवाफ ७ दिनभित्रै दिन माग गरे । “७ दिन पछाडि सबै सदस्य (सांसद) ले यसबारे कुरा उठाउनुहुन्छ । सदन चल्न गाह्रो हुन्छ । सरकारलाई ७ दिनमा यो जवाफ दिन आग्रह गर्छु,” उनले भने ।
यस्तै स्वतन्त्र सांसद महावीर पुनले बाँदर आतंक नियन्त्रण गर्न सहज नभएको बताएका छन् । संसद् बैठकमा बोल्दै उनले आफूले बाँदर आतंकबारे ७ वर्षदेखि नियन्त्रणको प्रयास गर्न खोज्दा पनि सफल नभएको अनुभव सुनाए । उनले भने, ‘राष्ट्रिय आविष्कार केन्द्रले ५०–६० लाख रुपैयाँ खर्च गरेर बाँदर आतङ्कलाई कम गर्नको लागि केही उपायहरू अनुसन्धान गर्न खोजेको हो । मैले हरेक गाउँपालिकाहरूलाई एक–एक लाख रुपैयाँ उठाउनुहोस्, १०० वटाले उठाउनुभयो भयो भने एक करोड रुपैयाँ हुन्छ । त्यति पैसाले त पुग्दैन होला, तैपनि यसमा अनुसन्धान गरेर बाँदरलाई आतङ्कबाट कम गर्ने भन्ने कुरा गर्नको लागि अनुसन्धान गर्नैपर्छ ।’
उनले बाँदर आतंकबारे संसद्मा कराएर केही हुनेवाला नभएको बताए । उनले भने, ‘बरु रकेट बनाउन सजिलो छ, रकेट बनाउने प्रविधि छ, टेक्नोलोजी छ, तर बाँदरलाई भगाउने प्रविधि संसारभरि मैले खोजेकै हो, छँदै छैन । अनुसन्धान गर्नको लागि खर्च छुट्ट्याउनुपर्छ, अहिलेको सरकारले एउटा टिम गठन गर्दै छ, त्यो टिममा मलाई पनि राख्नु भनेको छु ।’
संसद् बैठक तथा संसदीय समितिमा लगातार बाँदर समस्या समाधानका लागि धारणा राख्दै आएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आजको बैठकमा पनि बाँदर समस्या समाधानका लागि ध्यानाकर्षण गराउदै समाधानमा उपायहरु सुझाएकी छन् । तामाङले कृषि क्षेत्रमा मुख्य समस्याका रूपमा देखिएको बाँदर आतंक नियन्त्रणका लागि जनावर मार्ने नभई आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएकी छन्।
उनले बाँदर र बँदेल जस्ता वन्यजन्तुको स्थायी व्यवस्थापनका लागि ‘इलेक्ट्रिक फेन्सिङ’ (विद्युतीय बार) दीर्घकालीन समाधान भएको बताइन्। सांसद तामाङले परापूर्वकालदेखि प्रयोग हुँदै आएका बाँदर तर्साउने, पटाका पड्काउने वा पुत्ला बनाउने जस्ता उपायहरू प्रभावहीन भइसकेको उल्लेख गरिन्।
‘जनावरलाई मारेर समस्या समाधान हुँदैन, यसले अर्को जटिलता ल्याउँछ,’ उनले भनिन्, ‘मुख्य समाधान भनेको सौर्य ऊर्जाबाट चल्ने कम भोल्टेजको विद्युतीय तारबार हो, जसले जनावरलाई नमार्ने तर एक पटक झड्का लागेपछि पुनः त्यहाँ आउन नसक्ने गरी तर्साउने काम गर्छ।’ उनले जंगलमा फलफूलका बिरुवा रोप्न पनि सुझाएका छन् ।
आशिकाले संसद् भवन परिसरमा बुधबार पनि यो विषयमा आफ्ना सुझाव दिएकी थिइन । आफू १५ वर्ष जर्मनीमा रहँदा त्यहाँका आधुनिक व्यवस्थापनका विधिहरू नजिकबाट नियालेको अनुभव सुनाउँदै उनले नेपालको भौगोलिक अवस्था अनुसार यो प्रविधि निकै प्रभावकारी हुने दाबी गरिन् ।
नेपालको पहाडी भेग मात्र नभई तराई र भित्री मधेसका टारहरूमा यो प्रणाली सुरु गर्न सकिने उनको भनाइ छ। विशेषगरी ठूला फाँटहरूमा विद्युतीय घेराबार गरी बालीनालीको सुरक्षा गर्न सकिने उनले बताइन्। उनले वन्यजन्तु र मानवबीचको द्वन्द्वलाई सन्तुलनमा लैजानुपर्नेमा जोड दिँदै भनिन्, ‘यो धर्तीमा मान्छे जति महत्वपूर्ण छ, बाँदर र अन्य जनावर पनि उत्तिकै महत्वपूर्ण छन्। उनीहरूलाई पनि बाँच्ने अधिकार छ। तर, कृषकको बालीनाली पनि जोगाउनु छ। त्यसैले मार्ने विकल्प होइन, व्यवस्थापनको बाटो रोज्नुपर्छ।’
यसअघि प्रतिनिधिसभाको सोमबारको बैठकमा ध्रुवराज राईले बाँदर नियन्त्रण गर्न बाँदर मार्नुपर्ने बताएका थिए । सो विषयमा नियमापत्ति गर्दै सांसद तामाङले ‘बाँदरलाई मार्न पाउनुपर्छ’ भन्ने शब्द हटाउन माग गरेकी थिइन । यसअघि प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा सांसदबीच यो विषयमा चर्काचर्की नै परेको थियो ।
एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले जंगली जनावरले किसानलाई दुःख दिएको कुरा सुनाए । उनले बाँदरलाई बन्ध्याकरण र बँदेललाई मार्न पाउनुपर्ने कानुन बनाउनुपर्ने धारणा राखे । बँदेल मार्ने कुरा सुन्ने बित्तिकै रास्वपाकी सांसद आशिका तामाङले प्रतिवाद गरिन् । सांसद पोखरेलले आफ्नो पालोमा कुरा राख्न भन्दै अघि बढे।
सांसद तामाङले माननीय भएर बँदेल मार्ने कुरा नगरौँ भन्ने जवाफ दिइन् । पोखरेलले बँदेलले मान्छे मारेको बताए । सांसद तामाङले मार्ने कुरा गर्दै नगर्न अडान लिइरहिन् । सांसद पोखरेलले नमार्ने भए उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । तामाङले जंगली जनावरको पनि बाँच्न पाउने अधिकार रहेको बताइन् ।
सवाल जवाफ चर्किएसँगै समिति सभापति अशोक कुमार चौधरीले वातावरण शान्त बनाएका थिए । बैठकमा रास्वपाका सांसद सागर ढकालले कुनै पनि विषयमा बोल्दा त्यसको अध्ययन हुनुपर्ने बताए । ’’समस्या मात्रै नउठाऊँ । समाधान पनि दिऊँ । अध्ययन गरेर बोलौँ । बाँदर र बँदेल नियन्त्रणको उपाय के हुन सक्छ अध्ययन गरौँ । कार्यान्वयनमा जाऔँ,’’ ढकालको भनाइ थियो ।
पछिल्लो समय मात्रै तेह्रथुमको लालीगुराँस नगरपालिकाले जेठ १ गते ’बाँदर लखेट्न सार्वजनिक बिदा’ दिने सूचना नै जारी गरेको थियो । तेह्रथुम, धनकुटा, भोजपुर, पाँचथर, संखुवासभा सहितका कोशी प्रदेश मात्रै होइन, देशभरका पहाडी जिल्लामा अहिले बाँदर दैनिक त्रासको नाम बनेको छ। मकै पाक्न लागेपछि खेतमा मान्छेभन्दा पहिले बाँदरको आँखा पुग्छ।
किसानले महिनौं लगाएर हुर्काएको बाली एकैछिनमा ध्वस्त बनाउने गरेपछि स्थानीयले आफूले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिहरुलाई आफ्ना समस्या सुनाउने गरेका छन् ।
’नेपालमा पाइने रातो बाँदरको फरक फरक उचाइमा बासस्थान र आनीबानी’ विषयमा अनुसन्धान सकेर भर्खरै मात्रै भारत पश्चिम बंगालको रायगन्ज विश्वविद्यालयबाट विद्यावारिधि पूरा गरेका डा रामचन्द्र अधिकारीका अनुशार रातो बाँदर नेपालको सबभन्दा चतुर र सफल जीवमध्ये एक हो । रातो बाँदर, अर्थात् ’रेसस मंकी’ जसको वैज्ञानिक नाम ’मकाका मुलाटा’ हो।नेपालमा यसलाई हजारिया बाँदर पनि भनिन्छ।
नेपालमा पाइने पाँच प्रजातिका बाँदरमध्ये यही सबभन्दा चकचके र समस्या निम्त्याउने प्रजाति मानिन्छ। उनका अनुसार रातो बाँदरको गर्भधारण अवधि करिब १६० दिनको हुन्छ र साधारणतया एउटा मात्र बच्चा जन्मिन्छ। जंगली अवस्थामा औसत आयु १२ देखि १५ वर्षसम्मको हुन्छ।
अनुसन्धान क्रममा उनले सुनसरीको रामधुनी जंगल, धरानको जंगल र धनकुटाको करिब १२५० मिटर उचाइसम्मका क्षेत्रमा बाँदरका निश्चित हुल पछ्याएर अध्ययन गरेका थिए । उनले अध्ययनका क्रममा उचाइ बदलिँदा बाँदरको समाज र स्वभाव पनि बदलिने पत्ता लगाएका छन् ।
अधिकारीका अनुशार तल्लो क्षेत्र वा मधेसका जंगलमा एउटै हुलमा ६० देखि २०० वटासम्म बाँदर देखिन्छन्। तर धनकुटा जस्ता पहाडी क्षेत्रमा एउटा हुलमा २० देखि ३० वटा मात्र पाइन्छन् । बाँदरहरु बिहान खानेकुरा खोज्ने र अघाउने काम गर्छन्। दिउँसो गर्मी हुँदा शितलमा आराम गर्छन्। बेलुकातिर फेरि घुमफिर गर्छन्।
जाडो मौसममा भने उनीहरूको व्यवहार फेरिन्छ। बिहान ढिलो मात्रै बाहिर निस्किन्छन्। तातो बाहिर नजाओस् भनेर एकअर्कासँग जीउ टाँसेर बस्छन्। बाँदरमा प्रत्येक समूहमा एउटा नाइके हुन्छ। साधारणतया ठूलो र पाको भाले। तर त्यो सत्ता स्थायी हुँदैन। उमेर बढ्दै गएपछि तन्नेरी भालेहरूले विद्रोह गर्छन्।
भाले–भालेबीच दादागिरी र पोथीको निहुँमा धेरै झगडा हुन्छ। बच्चाहरू भने मान्छेका केटाकेटीजस्तै खेल्दाखेल्दै एकैछिनमा झगडा गर्छन्। एकैछिनमा मिलिहाल्छन्। तर बाँदर झगडालु मात्र होइनन्, सहकार्यका पर्याय पनि हुन्छन्। कतैबाट खतरा महसुस हुनासाथ रूखको हाँगा हल्लाउँछन्।
अनुहारको हाउभाउ बदल्छन्, पुच्छर ठाडो पार्छन्, आवाज निकाल्छन् र एकअर्कालाई सतर्क गराउँछन्। डा.अधिकारीका अनुशार बाँदरले सबभन्दा बढी खाने भनेको रूखको पात र मुना हो । त्यसबाहेक फलफूल, फूल, कोपिला, बीउ र रूखको खोटो पनि उनीहरूले खाने गर्दछन् ।
खानेकुरा अभाव हुँदा उनीहरुले रूखको बोक्रा, कुहिएका पात, किराफट्यांग्रा र छेपारोसम्म खाने पाइएको छ। उनले अध्ययनका क्रममा बाँदरको आतंक बढ्नुको कारण पनि पत्ता लगाएका छन् । उनी भन्छन्, पछिल्लो २०–२५ वर्षमा मानिसहरू पहाडबाट ठूलो संख्यामा बसाइँ सरे। पुराना खेतबारी बाँझो भए, जंगल बढ्यो।
त्यसले बाँदरको बासस्थान र संख्या दुवै बढायो। यसले आतंक बढाउँदै लग्यो। बाँदरको प्राकृतिक शत्रु घट्नु पनि आतंक बढ्नुको अर्को मुख्य कारण भएको उनको भनाइ छ । उनका अनुशार अर्को समस्या पुराना रूख धेरै काटिनु पनि हो। बाँदरलाई बस्न र आराम गर्न लामो हाँगा भएका बुढा रूख धेरै चाहिन्छ।
त्यस्ता रूखमा पानीको स्रोत, झ्याउ र लवण बढी हुन्छ। उनी भन्छन्, यसका लागि जंगलमा मानिसको गतिविधि घटाउनुपर्छ। बाँदरलाई मनपर्ने बाँसका झाङ र बुढा रूख जोगाउनुपर्छ। उनी अहिले बाँदरको संख्या अत्यधिक भइसकेको भन्दै केही हदसम्म संख्या नियन्त्रण नगरी बाँदर जंगलमा सीमित हुने अवस्था नरहने बताउँछन् ।
यस्तै भौगोलिक उचाइ अनुसार बाँदरको खानपान फरक हुने भएकाले तराई र पहाडी भेगका जंगलमा तिनीहरूले मनपराउने प्रजातिका वनस्पति लगाउन पनि उनले सुझाव दिएका छन् ।



