एसईई पास भनेर मख्ख नपर्नुस , ११ कक्षा पढ्न यस्तो चाहिन्छ नतिजा

एसईई पास भनेर मख्ख नपर्नुस , ११ कक्षा पढ्न यस्तो चाहिन्छ नतिजा

विराटनगर,असार १०
माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईमा ‘कोही पनि फेल नहुने’ प्रणाली लागू गरिए पनि ‘पास’ भएका भनिएका सवै विद्यार्थीले कक्षा ११ मा भर्ना हुन भने पाउँदैनन् ।

फेल र पासको व्यवस्थाले विद्यार्थीमा नकारात्मक प्रभाव पर्यो भनेर सरकारले ‘कोही पनि फेल नहुने’ नीति लागू गरेको बताए पनि यसले विद्यार्थी र अभिभावकलाई अन्योल बढाएको छ । शिक्षाविदहरु त पास भइहालिन्छ भन्ने भ्रमका कारण विद्यार्थीले मेहनत नै नगरेको पाइएको पनि बताएका छन् ।

१ दशमलव ६ सम्म जीपीए ल्याएका विद्यार्थीले ११ कक्षामा भर्ना हुन पाउने प्रावधान भए पनि यसका लागि अरु पनि प्रावधान पूरा गर्नुपर्छ । जस्तो विज्ञान संकायमा ११ कक्षामा भर्ना हुन २ जीपीएका साथमा विज्ञान र अनिवार्य गणितमा सी प्लस तथा सामाजिक, अंग्रेजी र नेपालीमा डी प्लस आएकै हुनुपर्छ ।

यस्तै, समग्रमा १ दशमलव ६ जीपीए आएकाले व्यवस्थापन संकायमा ११ कक्षा भर्ना हुन पाउने भए पनि त्यसका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा डी प्लस जीपीए ल्याएकै हुनुपर्छ ।

त्यसैगरि, मानविकी संकाय पढ्न कम्तिमा १ दशमलव ६ जीपीएसम्म ल्याएका विद्यार्थीले पाउँछन् तर उनीहरुले अनिवार्य विषय अंग्रेजी, नेपाली, र सामाजिकमा डी प्लस आएकै हुनपर्छ । यस्तै अंग्रेजी, नेपाली समाजशास्त्र, आमसञ्चार तथा पत्रकारिता, ग्रामीण विकास विषय पढ्न समग्रमा कम्तीमा १ दशमलव ६ जीपीएका साथमा नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड ल्याउनैपर्छ । विज्ञान र गणितमा भने ई जीपीए ल्याए पनि फरक पर्दैन ।

शिक्षाशास्त्र संकाय पढ्न पनि १ दशमलव ६ जीपीए ल्याएका विद्यार्थीको अंग्रेजी नेपाली र सामाजिक विषयमा डी प्लस कम्तीमा आएकै हुनपर्ने व्यवस्था छ । अझ शिक्षा शास्त्रको विज्ञान विषय पढ्न भने विज्ञान र गणितमा पनि डी प्लस ल्याउनैपर्छ ।

सरकारले ‘पास’ भनेका शून्य दशमलव ८५ देखि १ दशमलव ६ सम्म जीपीए ल्याउने विद्यार्थीले कुनैपनि विषयमा ११ कक्षामा भर्ना पाउँदैनन् । भलै, उनीहरु यसअघिको पुरक परीक्षामा जस्तै स्तरोन्नती गर्न मिल्ने (ग्रेड बृद्धि)को परीक्षामा सहभागि हुन सक्छन् । जहाँ उनीहरुले जीपीए बढाउने सम्भावना रहन्छ ।

२ भन्दा कम जीपीए ल्याएका विद्यार्थीले लोकसेवाको जाँचै दिन पाउँदैनन् ।सी डी प्लस डी र ई जीपीए ल्याएका विद्यार्थीले स्तरबृद्धिका लागि परीक्षा दिन पाउँछन् । ग्रेड बृद्धिको परीक्षा आउँदो साउन २३ गतेदेखि परीक्षा सञ्चालन हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.