काठमाडौं, साउन १७
प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार आचार संहिता लागु गर्न कडा कानुन आउन लागेको बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ कास्की शाखाको संयोजनमा बिहीबार पोखरामा आयोजित ‘पत्रकार आचारसंहिता जागरण अभियान’मा श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले भदौ १ देखि डरलाग्दो कानुन आउँदै गरेको बताउँलै उक्त कानुनले पत्रकार आचारसंहिता उल्लंघन गरे तीन वर्ष जेल र ३० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बताए ।
पत्रकारको नाममा पेसागत आचारणविपरीत कुनै काम भए प्रेस काउन्सिल र पत्रकार महासंघले कदापी संरक्षण नगर्ने कार्यबाहक अध्यक्ष श्रेष्ठले स्पष्ट पारे । उनले पत्रकारको अधिकारका लागि लडेपनि अराजकका निम्ति नलड्ने बताए ।
पत्रकारितामा ९० प्रतिशत राजनीति हावी भएको भन्दै उनले स्वतन्त्र पत्रकारिता र मर्यादित पत्रकारिताको साथमा आधुनिक प्रविधिमैत्री पत्रकारिता आजको आवश्यकता भएको बताए ।