विश्वकै लामो प्रवचन दिई गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम राख्ने तयारीमा अनन्तराम

विश्वकै लामो प्रवचन दिई गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम राख्ने तयारीमा अनन्तराम

काठमाडौँ,साउन २६
योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसीले विश्व कीर्तिमान राख्ने उद्देश्यसहित ९० घण्टा निरन्तर वक्तव्य÷प्रवचन दिने भएका छन् । नुवाकोट शिवपुरी गाउँपालिका–१, हाल टोखा नगरपालिका–११ निवासी केसीले नेपालीको गौरवपूर्ण इतिहास रच्न आफूले आगामी भदौ ११ गतेदेखि विश्वको सबैभन्दा लामो प्रवचन दिन लागेको जानकारी गराए ।

यसअघि भारत केरलाका केपी भल्सराजनको ८१ घण्टा १६ मिनेट निरन्तर प्रवचन दिएको विश्व कीर्तिमान कायम भएको छ । निरन्तर प्रवचनको क्षेत्रमा आफूले नयाँ कीर्तिमान राख्ने तयारीमा लागेको केसीले बताए । उनले आगामी भदौ ११ गते बिहान ६ बजेदेखि गोकर्णेश्वर नपा–५ जोरापाटीस्थित इस्टकोल माविमा बेलायतबाट आउने गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिधिनिकाबीच आफ्नो प्रवचन शुरु गर्नेछन् ।

सतहत्तर जिल्ला र भारतको छ वटा प्रान्त गरी कूल १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरेका योगसाधक केसीले यसअघि २१ दिनको जलउपवास, छ महिनाको मौन साधना र नौ दिनको भूतपस्यासमेत गरिसकेका छन् । विश्वकै लामो प्रवचन दिई विश्व कीर्तिमान राख्ने उद्देश्यले उनले यसअघि नै ८८ घण्टा लामो प्रवचन दिएका थिए । तर प्राविधिक समस्याका कारण उनको उक्त प्रवचन गिनिज बुकमा कायम हुनसकेको थिएन ।
विश्वको सबैभन्दा लामो दाबी गरिएको वक्तव्य÷प्रवचनका बारेमा जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा रामशरण महतले विश्व कीर्तिमान राख्न गरिने यस प्रकारको कर्मले नेपाल र नेपालीको शिर उँचो बनाउने बताए ।

सो अवसरमा काँग्रेस नुवाकोटका सभापति जनदीशनरसिंह केसी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्की, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायतले विश्वको सबैभन्दा लामो प्रवचन दिई नेपाल र नेपालीको तर्फबाट विश्व कीर्तिमान कायम राख्न योगसाधक केसीलाई शुभकामना दिएका थिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.