विश्वकै सुन्दर शहरहरुको सुची सार्वजनिक, भियना पहिलो नम्बरमा

विश्वकै सुन्दर शहरहरुको सुची सार्वजनिक, भियना पहिलो नम्बरमा

लण्डन,साउन २९
यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा प्रकाशित हुँदै आएको यो प्रतिवेदन गत सोमबार सार्वजनिक गरिएको थियो ।

प्रतिवेदनमा विश्वका १० वटा शरहलाई एक दुई तीन गरी अङ्कित गरिएको छ । प्रथम स्थानमा ९९.१ अङ्क प्राप्त गरी भियना प्रथम स्थानमा रहेको छ । अस्ट्रेलियाको मेलबोर्नले ९८.४ अङ्क प्राप्त गरी दोस्रो स्थानमा परेको छ । मेलबोर्न विगत सात वर्षदेखि लगातार पहिलो स्थानमा रहँदै आएको थियो । तेस्रो स्थानमा जापानको ओसाका सहर परेको छ ।

क्यानाडाको क्यालगरी चौथो स्थानमा, अष्ट्रेलियाको सिड्नी पाँचौ स्थानमा, क्यानाडाकै भ्यानकोभर र टोरन्टो क्रमशः छैटौं र सातौं स्थानमा, जापानको टोकियो आठौं, डेनमार्कको कोपनहेगन नवौं र अष्ट्रेलियाको एडिलेड दशौं स्थानमा परेका छन् । उत्कृष्ट १० स्थानमा परेका यी शहरलाई हेर्दा अष्ट्रेलिया र क्यानाडामा तीन तीन शहरहरु परेका छन् ।

भिएना अष्ट्रेलियाको मेलबोर्न शहरलाई पछि पार्दै आगाडि पहिलो नम्बरमा आएको छ । भिएनामा अपराधमा कमी आएको, यातायातको सुविधा, शिक्षा र स्वास्थ्य सुविधा जस्ता कुरा लगायत राजनीतिक स्थायित्वको कारण पनि बस्न लायक शहरको पहिलो स्थानमा परेको बताइएको छ ।

बस्न अयोग्य शहरको सूचीमा पहिलो नम्बरमा सिरियाको राजधानी दमास्कस रहेको छ । यस्तै बङ्गलादेशको राजधानी ढाका, नाइजेरियाको लागोस, पाकिस्तानको कराची र पपुवा न्यु गिनीको पोर्ट मोरेस्बी पनि बस्न अयोग्यको सूचीमा रहेका छन् । पाँच वर्षयता अबिद्जान, हनोइ, बेलग्रेड र तेहरान सहरले भने विकासको फड्को मारेका छन् ।
रासस÷एएफपी

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.