काठमाडौं, भदौ ३
एसियाली राष्ट्रको खेलकुदको कुम्भमेला इन्डोनेसियाको जाकार्तामा शनिबार औपचारिक उद्घाटन भएको छ । एसियाड सुरु भएको आज दोस्रो दिन नेपालले विभिन्न १० खेलमा प्रतिस्पर्धा गर्दैछ ।
नेपालले आज पदकको सम्भावना भनेको तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छ । नेपालले तेक्वान्दो बाहेक फेन्सिङ, फुटबल, कवड्डी, सेपाकताक्रो, सुटिङ, पौडी, टेनिस, कुस्ती र उसुमा प्रतिस्पर्धा गर्दैछ ।
तेक्वान्दोका लागि नेपाली टोली तयार रहेको तेक्वान्दोका प्रशिक्षक दीपक विष्टले बताएका छन् । उनले नेपालले दक्षिण कोरियामा राम्रो तयारी गरेकाले जाकार्तामा उत्कृष्ट पदर्शन हुने बताए । मेन स्टेडियम नजिक रहेको कर्भहलमा हुने तेक्वान्दोको पुम्सेको इभेन्ट आइतबार हुने छ ।
पुरुष एकल पुम्सेको राउन्ड अफ १६ मा नेपाल कमल श्रेष्ठले ताइपेगका चेन चाङ्गको सामना गर्ने छन् । त्यसैगरि महिलातर्फ पार्वती गुरुङले चाइननीज ताइपेकी लिओको सामना गर्नेछीन् । महिला टिम पुम्सेमा नेपालका निता गुरुङ, पार्वती गुरुङ र सिना लिम्बुले उज्वेकिस्तानको टिमको सामना गर्ने छ । नेपालले पुम्सेमा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक विष्टले दावी गरे ।
त्यसैगरि कुस्तीतर्फ भगवती साहतेली, सुरेश चुनारा र सरोज यादवले प्रतिस्पर्धा गर्ने छन् । उसुमा जुना राईले ५२ केजी महिला सान्दामा भियतनाकी खेलाडीको सामना गर्दैछीन् । मंगलप्रसाद थारुले इन्डोनेसियाका खेलाडीको सामना गर्नेछन् ।