२८ असोज, विराटनगर ।
विराटनगर बसपार्कको एक होटेलमा १८ वर्षीय युवकको हत्या भएको अवस्थामा शव भेटिएको छ । सिरहा गोलबजार घर भएका अंशु सदाको होटलमा शव भेटिएको हो । अपहरणमा परेका सदाको विराटनगरको न्यु अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
अपहणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए । १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङको प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताएका छन् ।
सामान्य किसान परिवारका सदा परिवार निम्न आर्थिक अवस्थाका हुन् । उनको हत्या २७ गते बेलुकै भएको प्रहरीको अनुमान छ । उनलाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङभित्र हालेर भाग्ने कोसिसमा थिए । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन् । घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमै रहेको छ ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शन्तिराज कोइरालाका अनुशार शव सिरहाका १८ वर्षीय युवक अंशु सदाको हो । ‘असोज २६ गते होटलमा इन्ट्री भएको देखिन्छ,’ उनले भनेका छन् ‘सिरहाबाट अपहरण गरेको कुरा आएको छ, थप अनुसन्धान हुँदैछ । ’