विराटनगर, भदौ ११
विराटनगरमा रहेका धार्मिक तथा सामाजिक संघसंस्थाहरुले शान्ति सुरक्षा सुदृढ गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र पठाएका छन् । महानगर क्षेत्रका दुई दर्जन बढी धार्मिक र सामाजिक संस्थाहरुले शान्ति सुरक्षा थप सुदृढ गर्न माग गर्दै नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पठाएका हुन् ।
विराटनगर क्षेत्रसहित देशका विभिन्न भागमा हत्या हिंसा, चोरी र बलात्कारलगायतका घट्नाहरु बढेका कारण सर्वसाधारणमा असुरक्षाको अवस्था उत्पन्न भएको भन्दै उनिहरुले मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी मार्फत गृहमन्त्रीलाई ज्ञापन पठाएका हुन् ।
लक्ष्मीनारायण मन्दिर पाञ्चालीका मठाधिश स्वामी अच्युत प्रपन्नाचार्यले हिंसात्मक घटनाका कारण सर्वसाधारणमा त्रास बढेको भन्दै शान्ति सुव्यवस्था थप सुदृढ बनाउन र पीडित परिवारलाई न्याय दिलाउन सरकारलाई आग्रह गरिएको बताए ।
पठाइएको ज्ञापनमा विश्व हिन्दू महासंघ विराटनगर, सनातन युवा मञ्च नेपाल, वैदिक कर्मकाण्ड परिषद्, हिन्दू जागरण अभियान, विश्व हिन्दू परिषद्, श्री निम्बार्क बैष्णव परिषद र लक्ष्मीनारायण मन्दिर पाञ्चालीसहित विभिन्न २६ वटा संस्थाका प्रतिनिधिको हस्ताक्षर छ ।