२५ फागुन ,एजेन्सी ।
नेपालका विकेटकिपर ब्याट्सम्यान आशिफ शेखले एकदिवसीय करियरको पहिलो शतक बनाएका छन् । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गत पीएनजीविरुद्ध जारी खेलमा नेपालका ओपनर आशिफ शेखले एकदिवसीय करियरको पहिलो शतक बनाएका हुन् ।
किर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा बिहिबार आशिफले १०१ बलको सामना गर्दै १० चौका र २ छक्काको सहयोगमा रन बनाउँदै आफ्नो मेडन शतक पुरा गरे । आशिफले ११० बल खेल्दै ११० रन जोडेका छन् । जहाँ उनले १२ चौका र २ छक्का प्रहार गरे ।
नेपालका लागि एकदिवसीय शतक बनाउने पाँचौं खेलाडी समेत बनेका छन् । यस्तै आशिफले एकदिवसीय करियरको एक हजार रन समेत पूरा गरेका छन् । उनी नेपालका लागि एकदिवसीयमा एक हजार रन पुरा गर्ने दोस्रो क्रिकेटर भएका छन् ।
यसअघि आशिफको नाममा ३१ एकदिवसीय खेलमा सातवटा अर्धशतक रहेको थियो । आशिफले सन् २०२१ मा पीएनजीविरुद्ध खेल्दै एकदिवसीय करियरको शुरुवात गरेका थिए । यसअघि, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र पारस खड्काले नेपालका लागि एक दिवसीय क्रिकेटमा शतक बनाएका थिए ।
जारी खेलमा शतक बनाएका आसिफ नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बनेका छन् । पहिलो नम्बरमा कप्तान रोहित पौडेल छन् । तेस्रोमा ८ सय ५६ रन सहित ज्ञानेन्द्र मल्ल रहँदा चौथोमा कुशल भुर्तेल र पाँचौँमा आरिफ शेख छन् ।