१३ वैशाख , काठमाण्डौ।
काठमाडौँ मनोहरा खोला किनारमा रहेको सुकुमवासी बस्तीमा पनि अनधिकृत रूपमा बनाइएका घरटहरा भत्काउन थालिएको छ। जहाँ हिजो भने निकै अवरोध गरिएको थियो । सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गर्दा केही सुरक्षाकर्मीहरु घाइतेसमेत भएका थिए ।
तर आज भने विहानैदेखि सुकुम्बासीहरुले आफ्ना सामानहरु सार्न थालेका थिए भने अहिले त्यहाँ शन्तिपूर्ण रुपमा नै डोजर लगाएर संरचनाहरु भत्काउन थालिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुर तर्फबाट १३ नेपाल प्रहरी र ६ सय सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।
मनोहरा क्षेत्रको बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि आज बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो । मनोहराका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको खड्काले बताए ।
मनोहरा बस्तीमा सात सय ७७ घरटहरा छन्। यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए । त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्थानीयले अवरोध गरेका थिए । केही सुकुमवासीले आक्रमण गर्दा २२ सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।
तरपछि अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा आज डोजर चलाइने भएपछि धमाधम समान सार्न थालेका थिए । हिजो ढुंगामुढा भए पनि आज भने सुकुमबासीहरु आफै समान सारिरहेका थिए । यस कार्यमा नेपाल प्रहरीले पनि सघाएको छ । यस क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
हिजो स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किए पनि आज सो क्षेत्र खाली गर्ने सरकारको तयारी छ । शनिबार थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्तीका संरचना भत्काइएको थियो । त्यसपछि मनोहराको वस्ती पनि भत्काउका लागि सुरूमा प्रहरी पुगेको थियो ।
तर स्थानीयले अवरोध गरेपछि रात पनि परिसकेका कारण प्रहरी टोली फर्किएको थियो । आज भने बिहान ९ बजेपछि ठूलो संख्यामा प्रहरी त्यस क्षेत्रमा पुगेको हो । आज यहाँ १० वटासम्म डोजर परिचालन गरिँदै छ । पूर्वसूचनाअनुसार नै शनिबार बिहानैदेखि थापाथली सुकुमवासी बस्तीबाट संरचना हटाउन सुरु भएको थियो ।
दिउँसोदेखि सिनामंगल–गैरीगाउँ क्षेत्र र भक्तपुरको मनोहरा क्षेत्रका सुकुमवासी बस्तीमा पनि डोजर चलाइएको हो । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासनलगायतको समन्वयमा डोजर लगाएर संरचना भत्काइएको छ । थापाथली क्षेत्र शनिबार नै खाली गरिएको छ भने शान्तिनगर–सिनामंगल–गैरीगाउँ तथा मनहरा जडीबुटी क्षेत्रमा आइतबारसम्म लाग्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।
करिब १२ हजारको संख्यामा प्रहरी तैनाथीसहित महानगरका डोजर चल्दै गर्दा बस्तीका अधिकांश परिवार आफैँ सामान निकालेर निस्किएका थिए । कतिपय परिवारलाई सामान निकाल्न प्रहरीले सघाएको थियो । परिस्थिति असामान्य हुन सक्ने आकलन गरेको प्रहरी पानीको फोहरा, अश्रुग्यास, लाठीसहित तैनाथ थियो ।
तर, कुनै बल प्रयोगविना शान्तिपूर्ण रूपमा बस्ती खाली भएको छ । बस्ती छाडेकाहरू सरकारले आह्वान गरेको ‘स्क्रिनिङ’ प्रक्रियामा सामेल हुने क्रम जारी छ । अब सरकारको प्रमुख जिम्मेवारी ‘वास्तविक सुकुमवासी’ पहिचान गरी उनीहरूको स्थायी व्यवस्थापन गर्नु हो ।
शनिबार राति १०ः३० बजेसम्म १४४ परिवार ‘स्क्रिनिङ’ का लागि उपस्थित भएको सरकारी तथ्यांक छ । भूमि सुधार र सहरी विकास मन्त्रालय तथा काठमाडौं महानगरपालिकाको टोली स्क्रिनिङमा खटिएका थिए । टोलीले उनीहरूको व्यक्तिगत विवरण, पारिवारिक विवरण र सामानको विवरण लिएको थियो ।
उनीहरूलाई आश्रयस्थल पु¥याउन र उनीहरूको सामान ओसार्न पनि सरकारी गाडी प्रयोग गरिएका थिए । दुवै पक्ष संयमित हुँदा सहज वातावरणमै बस्ती खाली गरिएको र वास्तविक पीडित तथा आश्रय दिनुपर्ने संख्या यकिन गरी आश्रयस्थल पु¥याइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलले बताए ।
सम्पर्कमा आएकाहरूलाई कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा राखिएको छ । यसबाहेक उपत्यकाका विभिन्न ठाउँबाट विस्थापित हुने सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र र ललितपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने व्यवस्था गरिएको छ ।
सुकुमवासीकै लागि भनेर केही वर्षअघि नै बनाइएको इचंगुनारायणस्थित भवन हाल मर्मत भइरहेकाले एक–दुई सातापछि त्यहाँ लगेर केही महिना अस्थायी रूपमा राख्ने र स्थायी बसोबासको व्यवस्थापनमा लाग्ने सरकारको तयारी छ ।काठमाडौं महानगरपालिकाका अनुसार थापाथलीका सबैजसो टहरा अस्थायी किसिमका थिए ।
चार डोजर प्रयोग गरेर हटाइएको थियो । केही घण्टामै थापाथली खाली गरेर प्रहरी र डोजर तीनकुने, गैरीगाउँ र सिनामंगल क्षेत्रका सुकुमवासी बस्तीमा पुगेका थिए । तीनकुने–सिनामंगल क्षेत्रमा करिब चार सय घरटहरा भत्काएर सकिएकोमा अझै दर्जर्नौँ संरचना बाँकी रहेको प्रहरीले जनाएको छ ।
गैरीगाउँमा सुकुमवासीका नाममा बनाइएको तीनतले पक्की घरमा समेत डोजर चलेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सबै पक्ष मिलेर फिल्डमा खटिँदा सहज रूपमा बस्ती खाली गरिएको बताए । भूमि आयोगका अनुसार थापाथलीमा सुकुमवासी बस्तीमा मात्रै १४६ परिवारको बसोबास थियो ।
त्यस्तै, गैरीगाउँ क्षेत्रमा ८५ र मनोहराको काठमाडौंतर्फ जडीबुटी क्षेत्रमा ११४ परिवार छन् । मनोहरामा काठमाडौं र भक्तपुरतर्फ गरी ७७३ परिवारले भूमि आयोगमा सुकुमवासीका नाममा निवेदन दिएका थिए । तर, उक्त संख्यामा अधिकांश गैरसुकुमवासी भएको सहरी विकास मन्त्रालयको आशंका छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले मन्त्रालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार तीनकुने शान्तिनगर क्षेत्रमा ४७६, गैरीगाउँ क्षेत्रमा १६२, थापाथली क्षेत्रमा १४३, गोठाटारमा ७७, मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी छन् । उक्त क्षेत्रमा अस्थायी र स्थायी संरचना बनाइएका थिए ।
प्राधिकरणका अनुसार थापाथली सुकुमवासी बस्तीका ३६ परिवारको त अन्यन्त्र जग्गा भएको समेत फेला पारेको थियो । थापाथली क्षेत्रमा सबैजसो अस्थायी किसिमका संरचना थिए । तर, तीनकुने–गैरीगाउँ क्षेत्रमा भने धेरै संरचना पक्की थिए । काठमाडौं महानगरको तथ्यांकअनुसार गैरीगाउँ क्षेत्रमा २८ भन्दा बढी संरचना पक्की ढलान गरिएका थिए ।
पक्की भएकै कारण त्यस क्षेत्रमा भत्काउन बढी समय लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ । बागमती नदीको दायाँ र बायाँ दुवैतर्फ अतिक्रमण गरेर संरचना बनाइएको यो क्षेत्रमा आइतबार मात्रै बस्ती खाली गरेर सकिने महानगरको भनाइ छ । यस्तै सरकारले हाल देशभरकै अवैध संरचना हटाउने अभियान थालेको छ ।
स्थानीय तहलगायत सम्बन्धित निकायलाई अगाडि लगाएर सरकारले अवैध संरचना हटाइरहेको छ । एक साताअघि पर्साको वीरगन्ज क्षेत्रमा अवैध संरचना भत्काइएको थियो । त्यस्तै, शनिबार बागमती करिडोरसँगै पोखराको सहरी क्षेत्रका केही संरचना पनि हटाइएको छ ।
अन्य धेरै जिल्लामा पनि अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा भत्काउँदै जाने र वास्तविक सुकुमवासीलाई स्थायी वासको व्यवस्था गर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।


