२ चैत ,एजेन्सी ।
उत्तर कोरियाले पुनः लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको जापान भ्रमणअघि बिहीबार बिहान उत्तरले मिसाइल प्रहार गरेको हो । दक्षिण कोरियाका राष्ट्रपति येओल टोकियोमा हुने शिखर सम्मेलनमा सहभागी हुन जापान जाँदैछन् ।
यही बेला उत्तर कोरियाले मिसाइल प्रहार गरेको आरोप दुवै देशको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ७ः२५ मा प्योङयाङबाट ब्यालेस्टिक मिसाइल कोरियाली प्रायद्वीपको पूर्वी समुद्री क्षेत्रमा उडेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
जापानी रक्षा मन्त्रालयले पनि मिसाइल प्रक्षेपण भएको पुष्टि गर्दै उक्त मिसाइल जापानको टापुबाट २५० किलोमिटर टाढा खसेको जनाएको छ । ६ हजार किलोमिटरभन्दा बढीको उचाइमा करिब प्रतिघण्टा १ हजार किलोमिटर गतिमा मिसाइल उडेको जापानले बताएको छ ।
उत्तर कोरियाले पछिल्लो समय फेब्रुअरी १८ मा लामो दूरीको मिसाइल प्रहार गरेको थियो । उक्त मिसाइल प्रहारपछि संयुक्त राष्ट्र संघले आपतकालीन बैठक डाकी घटनाको निन्दा गरेको थियो । पछिल्लो एक वर्षको अवधिमा मात्रै उत्तर कोरियाले चार पटक ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ ।
केही दिन अघि मात्रै पनि लगातार दुई दिन अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई लक्षित गर्दै उत्तरले मिसाइल प्रक्षेपण गरेको थियो । उत्तर कोरियाले गरिरहेको मिसाइल प्रहार संयुक्त राष्ट्रसंघका नेताविरुद्ध भएको दाबी दक्षिण कोरियाले गरेको छ ।
मिसाइल प्रहारपछि जापान र अमेरिकासँग बलियो सुरक्षाका लागि पनि दक्षिण कोरियाले अपिल गरेको छ । मिसाइल प्रहार भएपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउन दक्षिण कोरियाले माग समेत गरेको छ ।